काठमाडौँ ।
तारकेश्वर नगरपालिका-१० स्थित मनमैजुमा पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक पहिचान, सचेतना र रोकथाममा सहयोग पुर्याउने उद्देश्यले स्वास्थ्य शिविर आयोजना गरिएको छ। मेरीस्टोप्स इन्टरनेशनल र रोटरी क्लबसँग आबद्ध महिला समूहको सहकार्यमा सम्पन्न उक्त शिविरमा ११० महिलाको पाठेघरको मुखको क्यान्सर जाँच गरिएको थियो।
‘भिजुअल इन्स्पेक्सन विथ एसेटिक एसिड’ (भिआइए) विधिबाट स्क्रिनिङ गर्दा ४ महिलाको नतिजा पोजेटिभ देखिएको थियो। ती महिलालाई आवश्यक परामर्श प्रदान गरी क्यान्सर अस्पताल भक्तपुर र भरतपुरमा रेफर गरिएको आयोजकले जनाएका छन्। शिविरमा डा. कस्तुरी मल्ल र डा. विमला लाखेसहित नर्स विष्णुदेवी श्रेष्ठ र कल्याणी श्रेष्ठले सेवा प्रदान गरेका थिए।
शिविरमा विद्यालयमा अध्ययनरत १५० छात्रालाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ह्युमन पापिलोमा भाइरस (एचपिभी) खोपको महत्वबारे जानकारी गराइएको थियो। एचपिभी खोपले पाठेघरको मुखको क्यान्सर रोकथाममा महत्वपूर्ण भूमिका खेल्ने भएकाले सचेतना अभियानले किशोरीहरूलाई खोपप्रति प्रोत्साहित गरेको छ।
सरकारले माघ २३ गतेबाट पाठेघरको मुखको क्यान्सर रोकथामका लागि खोप अभियान सञ्चालन गर्दैछ। १५ दिनसम्म सञ्चालन हुने यस अभियान अन्तर्गत कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालयबाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार किशोरीलाई खोप प्रदान गरिनेछ।
मेरीस्टोप्स इन्टरनेशनलका वरिष्ठ सल्लाहकार केपी उपाध्यायले प्रजनन स्वास्थ्य शिविरले यौन तथा प्रजनन स्वास्थ्य सेवाबारे समुदायस्तरमा जानकारी बढाउन सहयोगी भूमिका खेलेको जानकारी दिए। यसले पाठेघरको मुखको क्यान्सर रोकथाममा समुदाय र संस्थाहरूको सहकार्यको महत्वलाई उजागर गरेको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको समन्वयमा सञ्चालन भइरहेका यस्ता कार्यक्रमहरूले महिलाको स्वास्थ्य सुधार र क्यान्सरजस्ता जटिल समस्याहरूको रोकथाममा महत्वपूर्ण योगदान पुर्याइरहेका छन्।