सगरमाथा क्षेत्रको प्रमुख प्रवेशद्वार लुक्ला नजिकैको सुर्के गाउँसम्म सडक सञ्जाल विस्तार भएपछि पर्यटन व्यवसायी उत्साहित भएका छन्। खुम्बु पासाङल्हामु गाउँपालिकाको प्रमुख लगानीमा सल्लेरीबाट सुर्केसम्मको सडक निर्माण सम्पन्न भएसँगै सगरमाथा क्षेत्रमा पर्यटन प्रवर्द्धनमा ठूलो फड्को मार्ने अपेक्षा गरिएको छ।
खुम्बु पासाङल्हामु–१ खरिखोलाबाट वडा नं २ सुर्केसम्म करिब २५ किलोमिटर सडक निर्माण रु १६ करोडको लागतमा सम्पन्न भएको हो। परियोजना गाउँपालिकाको मुख्य लगानीमा दुई वर्षअघि सुरु गरिएको थियो। यसमा स्थानीय जलविद्युत् आयोजना–सिल्क पावर र दूधकोशी छैटौसँग साझेदारी गरिएको छ।
थामडाँडाबाट सुर्केसम्मको १२.५ किलोमिटर सडक रु १० करोड ५२ लाखको ठेक्कामा निर्माण गरिएको हो। खरिखोलाबाट थामडाँडासम्मको १२.३ किलोमिटर सडक भने रु ६ करोड १४ लाख लागतमा पालिकाको आफ्नै स्रोतबाट बनाइएको हो।
सडक सञ्जालले लुक्लासम्म पुग्न सहज बनाएको छ। मौसमका कारण उडान रद्द हुँदा यात्रुहरू अलपत्र पर्ने समस्या समाधान हुने विश्वास पर्यटन व्यवसायीहरूले व्यक्त गरेका छन्। साथै, सडकले खुम्बु क्षेत्रका स्थानीय बासिन्दाको जीवनशैलीमा पनि सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
सडक विस्तारले खुम्बु क्षेत्रको पर्यटन व्यवसायमा ठूलो सुधार ल्याउने विश्वास गरिएको छ। होटल, रेस्टुरेन्ट, ट्राभल एजेन्सी, गाइड, र पोर्टरको रोजगारीमा वृद्धि हुने छ। साथै, आलु, गहुँ, जौँजस्ता स्थानीय उत्पादनको ढुवानी र निर्माण सामग्री तथा खाद्यान्न आपूर्ति सहज हुने छ।
सुर्केसम्म सडक सञ्जाल विस्तार भएको खुम्बु क्षेत्रका लागि कोशेढुङ्गा सावित भएको छ। यसले क्षेत्रीय र राष्ट्रिय अर्थतन्त्रमा दीर्घकालीन योगदान दिने विश्वास गरिएको छ। यही पुस २० मा सडक उद्घाटन गर्ने कार्यक्रम छ, जसले खुम्बु क्षेत्रलाई थप प्रचार-प्रसार गर्नेछ।
सुर्केसम्म सडक सञ्चालनमा आएपछि सल्लेरीदेखि ६४ किलोमिटरको दूरीलाई सहजै पार गर्न सकिने भएको छ। यसले मौसम प्रतिकूल हुँदा रामेछापको मन्थलीमा हप्तौँसम्म कुर्नुपर्ने विदेशी पर्यटकको समस्या समाधान गर्नेछ। अब आधा पर्यटक सडकमार्गबाट खुम्बु क्षेत्र पुग्ने सम्भावना रहेको पर्यटन व्यवसायीहरूको अनुमान छ।
सुर्केसम्म सडक विस्तारले सगरमाथा क्षेत्रको पर्यटन विकास र स्थानीय उत्पादनको बजारीकरणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।