कृष्णथुम्की धार्मिक पर्यटकीय क्षेत्रको मर्मतपछि नयाँ रुप
कृष्णथुम्की धार्मिक पर्यटकीय क्षेत्रको मर्मतपछि नयाँ रुप
    • बेल संचार

    • १६ पुष २०८१, मंगलवार

झापा ।

महाभारतकालीन पौराणिक महत्व बोकेको मेचीनगर नगरपालिका–१ स्थित कृष्णथुम्की धार्मिक स्थलको मन्दिर र गुम्बा सङ्घीय सरकारको सहयोगमा मर्मतसम्भार गरी नयाँ स्वरूपमा प्रस्तुत भएको छ।

किंवदन्तीअनुसार भगवान् श्रीकृष्णले गाई चराउँदा यहाँ गाईको खुरको छाप रहेको पवित्र शिला भेटिएको छ। यस क्षेत्रलाई श्रीकृष्ण र पाँच पाण्डवको प्रतीकका रूपमा रहेको छवटा मनमोहक डाँडाले विशेष महत्व दिएको छ।

कृष्णथुम्की मन्दिर र गुम्बाको मर्मतमा रु ३० लाख ३९ हजार १ सय ८० खर्च भएको छ। सहरी विकास मन्त्रालयले रु २८ लाख पाँच हजार १ सय ९७ सहयोग गरेको र बाँकी रकम समितिको आन्तरिक स्रोतबाट जुटाइएको छ। मन्दिर परिसरमा पित्तलको छानो लगाइएको, ब्लक र टायल्स बिछ्याइएको, साकेला थान र गुम्बाको प्राङ्गण ढलान गरिएको, तथा मन्दिर र गुम्बाको रङरोगन गरी आकर्षक बनाइएको छ।

मूल मन्दिरसम्म पुग्न रेलिङसहितको पक्की सिँढी निर्माण गरिएको छ। झापाको काँकडभिट्टाबाट १७ किलोमिटर उत्तरमा रहेको कृष्णथुम्की क्षेत्र मेची र सिद्धी नदीको सङ्गमस्थलमा अवस्थित छ। यहाँ बर्सेनि हजारौँ आन्तरिक तथा बाह्य पर्यटक गाईको खुरको दर्शन र दृश्यावलोकन गर्न आउने गरेका छन्।

छवटै थुम्कीबाट नेपाल र भारतको टाढासम्मको भूभाग अवलोकन गर्न सकिन्छ। झापाको काँकडभिट्टाबाट इलामको सलकपुर र श्रीअन्तुसम्म जोड्ने सडकको स्तरोन्नति भइरहेको छ। दक्षिणतिर सडक कालोपत्रे गर्ने कार्यले पर्यटकलाई सहज हुने विश्वास गरिएको छ।

पूर्वपश्चिम राजमार्गलाई चार लेनको एसियाली राजमार्गका रूपमा स्तरोन्नति गर्ने र बाहुनडाँगीमा मदन भण्डारी राजमार्गको प्रस्थानबिन्दु रहेकाले कृष्णथुम्कीलगायत ऐतिहासिक धार्मिक क्षेत्रको पर्यटन प्रवर्द्धनमा ठूलो योगदान पुग्ने अपेक्षा गरिएको छ।

कृष्णथुम्की धार्मिक क्षेत्रको संरक्षण, मर्मत र पहुँच विस्तारले यो स्थललाई अझै लोकप्रिय बनाउँदै हिन्दू, किरात, र बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थलको रूपमा प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेल्नेछ।

साताकाे चर्चित
सम्बन्धित