मोरङ ।
बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गका मेघराज बस्नेतले विगत पाँच वर्षदेखि पूर्व–पश्चिम राजमार्गको बेलबारी–८ स्थित चिसाङ खोला छेउमा मकै पोलेर बिक्री गर्दै आएका छन्। मकै पोलेरै पाँचजनाको परिवारको जिविका चलाउँदै आएका उनले भने, “व्यापारको टुङ्गो हुँदैन, तर औसतमा दैनिक एक हजारदेखि एक हजार पाँच सयसम्म आम्दानी हुन्छ।” उनका अनुसार, रु २५ मा किनिएको मकै प्रतिघोगा रु ४० मा बिक्री हुने गर्दछ।
बेलबारी–१० भाउन्नेका रमेश कुँवरले पनि सोही स्थानमा मकै पोलेर बेचिरहेका छन्। कोरोनाका कारण घरमै सञ्चालन गरेको होटल व्यवसाय ठप्प भएपछि उनले यो पेसा थालेका हुन्। हाल यो पेसाप्रति सन्तुष्ट रहेको उनले बताए। कुँवरका अनुसार, राजमार्गमा यात्रारत यात्रुहरू यहाँ गाडी रोकेर पोलेको मकै किनेर खाने गर्छन्।
कानेपोखरी गाउँपालिका–५ की ५४ वर्षीया सुस्मिता राईले पनि छोरीको सहयोगमा चार वर्षदेखि चिसाङ खोला छेउमा मकै पोलेर बेच्दै आएकी छन्। कानेपोखरीकै दुर्गा तामाङले दुई वर्षदेखि यही पेसा गर्दै आएको बताइन्। दुर्गाका अनुसार, दैनिक एक सय घोगा मकै बेच्ने गर्छिन्। उनीहरूले जाडोमा मकै पोल्न सजिलो भए पनि गर्मीमा भने गाह्रो हुने बताएका छन्।
यात्रु र सवारी चालकहरूले यहाँ पोलेको मकै अत्यन्त रुचाउने गरेका छन्। “यो राजमार्गमा यात्रा गर्दा यहाँ पोलेको मकै नखाई चित्तै बुझ्दैन,” ट्रक चालक रामु चौधरीले भने, “मकै खाँदै यहाँ आराम गर्दा थकाइ पनि मेटिन्छ, मकै पनि स्वादिलो हुने भएकाले यो बानी नै परिसक्यो।”
चिसाङ खोला छेउमा पोलेको मकैप्रति रुचि देखाउने यात्रुहरूको भीड लाग्ने गरेको छ। यो स्थान राजमार्गमा यात्रा गर्नेहरूका लागि खाजा खाने नयाँ गन्तव्यका रूपमा विकास भइरहेको छ। कोभिड–१९ महामारीपछि वैकल्पिक व्यवसायका रूपमा यहाँ मकै पोल्न सुरु गरिएको हो। हाल २० भन्दा बढी स्थानीयले मकै पोल्ने पेसा गरिरहेका छन्।
तर, वन कार्यालयले यो स्थान अतिक्रमण भएको भन्दै यहाँबाट मकै पोल्नेलाई हटाउन कोसिस गरिरहेको छ। डिभिजन वन कार्यालय मोरङका सूचना अधिकारी रामलखन ठाकुरका अनुसार, अतिक्रमण नियन्त्रण गर्न वन क्षेत्र खाली गराउने प्रयास भइरहेको छ।
यसैबीच, सर्वसाधारणको जीविका सञ्चालन भइरहेका व्यवसाय विस्थापित नगर्न नगरप्रमुख दिलप्रसाद राईले बताएका छन्। उनले बेलबारी–१० स्थित भाउन्ने चोक पूर्वपट्टि स्थायी रूपमा व्यवसाय सञ्चालन गर्न ठाउँको व्यवस्था गर्ने योजना रहेको जानकारी दिए।