काठमाडौं ।
राष्ट्रपति रामचन्द्र पौडेलले देशको विकास केवल आर्थिक र भौतिक क्षेत्रमा मात्र सीमित नहुने भन्दै श्रम र पुँजीलाई सँगै अघि बढाउन जरुरी रहेको बताएका छन्।
मंगलबार काठमाडौंमा संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) को छैटौं श्रम संसदको उद्घाटन सत्रलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले श्रमजीवि वर्गले नै देशको प्रगति र विकासलाई अघि बढाउने उल्लेख गरे।
‘देशको विकास केवल आर्थिक र भौतिक मात्रै होइन, यससँग मानवीय पक्ष पनि गहिरो रूपमा जोडिएको छ,’ उनले भने, ‘प्राकृतिक स्रोत, साधन र पुँजीको परिचालन गर्ने श्रमजीवि वर्ग हुन्। त्यसैले श्रम र पुँजीलाई सँगै अघि बढाउनु आजको आवश्यकता हो।’
राष्ट्रपतिले श्रम र श्रमीकप्रति सम्मानको भावना राख्दै मुलुकले चाहेको आर्थिक र भौतिक विकासलाई तीव्र गतिमा अघि बढाउनुपर्नेमा जोड दिए।
‘सामाजिक न्यायका लागि सबैबीच कसिलो गठबन्धन आवश्यक छ,’ उनले भने, ‘नेपालमा सबैभन्दा ठूलो श्रमीक वर्ग कृषि क्षेत्रमा छ। त्यसैले व्यवसायिक कृषि कार्यक्रम र कृषि क्रान्तिको कुरा श्रमीकहरूको जीवनस्तर सुधार गर्नकै लागि हो।’
राष्ट्रपति पौडेलले श्रमको सम्मान गर्ने संस्कृतिलाई नेपालको विकास र समृद्धिको आधारको रूपमा लिएर अघि बढ्नुपर्ने धारणा पनि व्यक्त गरे। उनका अनुसार सफल राजनीतिक परिवर्तनपछि मुलुकले चाहेको विकास र समृद्धिको जग यही हो।