दाङ ।
दाङको घोराही उपमहानगरपालिका–१२ हापुरका जयबहादुर रोकाको बारीमा यतिबेला लटरम्मै टमाटर पाकेको छ। बारीबाटै टमाटर बिक्री गर्न भ्याइनभ्याइ छ। विगत तीन वर्षदेखि व्यावसायिक रूपमा टमाटरखेती गर्दै आएका रोका आफ्नो व्यवसायप्रति सन्तुष्ट छन्।
“भाउ पाएको समयमा उत्पादन गर्न सके टमाटरबाट राम्रो आम्दानी गर्न सकिन्छ,” उनी भन्छन्। “यस वर्ष समयमै उत्पादन गरेकाले बजारको कुनै समस्या छैन। यही खेतीलाई निरन्तरता दिने सोचमा छु।”
रोल्पा, रुन्टिगढी गाउँपालिका–७ बाट घोराही बसाइँ सरेका रोकाले रोल्पाकै एक सामुदायिक विद्यालयमा सात वर्ष कर्मचारीका रूपमा काम गरेका थिए। साथै, उनले १० वर्ष मलेसियामा वैदेशिक रोजगारी गरे। हाल भने टमाटरखेतीबाटै वार्षिक रु १८ लाखको आम्दानी गरी सबै खर्च कटाएर रु ७ लाख बचत गर्दै आएका छन्।
उनका अनुसार, मल, बीउ, कामदार, र जग्गा भाडालगायतका सबै खर्च कटाएर यो आम्दानी सम्भव भएको हो। “टमाटरखेतीमा १० जनालाई रोजगारी दिएको छु,” रोकाले भने, “पहिले रोल्पामा पनि कृषि व्यवसाय गरेको थिएँ, तर सडकको खराब अवस्थाका कारण उत्पादनको बजारीकरण गर्न कठिन थियो।”
मङ्सिरसम्म थोकमा प्रतिकिलो रु ५० मा टमाटर बिक्री गरेको र अहिले मूल्य केही घट्दै गएको उनले बताए। आफ्नै साढे १२ कट्ठा जमिन भए पनि तीन बिघा जग्गा वार्षिक रु ९८ हजार भाडा तिर्दै टमाटरखेती गर्दै आएका छन्।
परिवारमा आठ सदस्य रहेका रोकाले टमाटरखेतीबाटै छोराछोरीको शिक्षादीक्षा र परिवारको खर्च व्यवस्थापन गर्दै आएका छन्। गत वर्ष रोग र किराले टमाटर उत्पादनमा ढिलाइ हुँदा घाटा व्यहोर्नु परेको भए पनि यस वर्षको आम्दानीले उनलाई सन्तोष दिएको छ।