पर्सा
सुर्खेतको विद्यापुर–४ घर भई वीरगञ्ज महानगरपालिकामा बस्दै आउनुभएका ५२ वर्षीय जङ्गबहादुर थापाले ‘लेमन टी’ को व्यापारबाट मनग्य आम्दानी गर्दै आउनुभएको छ । उहाँले न ठूलो पुँजी लगाउनु पर्यो न त कुनै पसल नै सञ्चालन गर्नु परेको छ । उहाँको कमाइको स्रोत घुमफिर गरी लेमन टी बेच्ने व्यवसाय हो ।
वीरगञ्ज महानगरको घण्टाघर, मीनाबजार र माइस्थान क्षेत्रमा लेमन टी चियावालाको नामले परिचित थापाले बजार क्षेत्रका पसल, चौकचौक र सरकारी कार्यालयमा चिया पुर्याएर छ जनाको परिवारको जीविकोपार्जन गरिरहनुभएको छ । विगत डेढ दशकदेखि यसरी नै लेमन टी बेच्दै आउनुभएका थापाले पाँच जना छोराछोरीको पढाइ खर्च पनि यही व्यवसायबाट जुटाइरहनुभएको छ ।
“लेमन टी बेचेरै जेठो छोरालाई स्नातक (बिए) सम्म पठाएर बिहे गरी दिएँ । ऊ इन्टरनेट कम्पनीअन्तर्गतको अफिसमा काम गर्दैछ”, थापाले भन्नुभयो, “पाँच छोराछोरीमध्ये जेठी छोरीलाई स्टाफ नर्स (पिसिएल नर्सिङ) पठाएर बिहे गरिदिएँ ।” थोरै लगानीबाट सुरु गरेको घुमफिर लेमन टी बेच्ने व्यवसायबाट परिवारको सम्पूर्ण खर्च चलेको उहाँको भनाइ थियो । गरिबी र परिवारिक कारणले आफूले पढ्न नपाए पनि छोराछोरीलाई यो अवसरबाट वञ्चित गर्नुहुन्न भनेर सबैलाई उच्च शिक्षा दिएको उहाँले बताउनुभयो ।
घुमफिर चियाको व्यवसाय गर्दै आउनुभएका थापाले वीरगञ्ज आसपास क्षेत्रमा घरघडेरी जोड्ने तयारी गर्दै हुनुहुन्छ । लेमन टी बेचेर दैनिक रु एक हजार पाँच सयदेखि रु दुई हजारसम्म कमाई हुँदै आएको उहाँले जानकारी दिनुभयो । “दिनमा दुईदेखि दुई सय ५० कपसम्म चिया बिक्री हुँदै आएको छ”, उहाँले भन्नुभयो, “एक कपको रु १० पर्छ । यसरी दैनिक दुई हजार भन्दाबढी कमाइ भइहाल्छ ।” स्वास्थ्यको दृष्टिकोणले उपयुक्त मानिने लेमन टीको माग बजारमा अत्यधिक रहेको भन्दै एक्लैले चिया पु¥याउन भ्याइनभ्याइ हुने गरेको उहाँको भनाइ थियो ।
“चिया बेचेर थोरै बचत गरेर राखेको छु”, थापाले भन्नुभयो, “विस्तारै यतै घडेरी किनेर घर बनाउने तयारी गर्दैछ ।” परिवारिक अवस्थाका कारण केही समय भारतको पञ्जाव, हरियाना लगायतका सहरमा मजदुरी गरेर फर्किनुभएका थापाले अरुको मजदुरी गर्नुभन्दा आफ्नै ठाउँमा सानो व्यवसायबाट काम सुरु गर्नु उपयुक्त हुने अनुभव सुनाउनुभयो ।
“अरुको देशमा मजदुरी गर्दा थुप्रै समस्या आउँछन् । अरुको अधिनमा बसेर काम गर्नुपर्दा कहिले बिरामी हुँदा पनि आराम पाइदैन”, थापाले भन्नुभयो, “अहिले आफ्नो घुमफिरको व्यापार छ । स्वतन्त्र रुपमा जति मेहनत गर्छु त्यो हिसाबले आम्दानी हुन्छ । अहिले ढुक्क छु ।” थोरै कमाए पनि स्वदेशमै मेहनत गरेर कमाउँदा सन्तुष्टी मिलेको उहाँको भनाइ थियो ।
“विदेशमा गएर कडा मेहनत गर्दा पनि दुःख झेल्नुभन्दा परिवारका सदस्यसँगै बसेर कमाउनुको मज्जा बेग्लै छ”, थापाले भन्नुभयो । स्वदेशमै मनग्य आम्दानी गर्न सकिन्छ भने विदेश किन जानु? उहाँले प्रश्न गर्नुभयो । दूध हालेर बनाउने चियाले ग्यास्ट्रिक, डाइबिटिजलगायत स्वास्थ्यमा समस्या आउने भएकाले बजारमा धेरै मानिसको राजाइ लेमन टी भएको उहाँले जानकारी दिनुभयो ।
स्वास्थ्यको दृष्टिकोणले पनि उयपुक्त हुने भएकाले पछिल्लो समय धेरैको आकर्षण लेमन टीप्रति बढेकाले थापाको घुमफिर चिया व्यापार फस्टाएको स्थानीय व्यापारी बताउँछन् । वीरगञ्जका स्थानीय व्यापारी कृष्णकुमार कानुले भन्नुभयो, “थापाले आयुर्वेदिक मसला हालेर लेमन टी बेच्ने गरेकाले पनि खान स्वादिष्ट र स्वास्थ्यको दृष्टिकोणले समेत राम्रो छ ।” पसलपसलमा पुगेर अरुको तुलनामा सस्तोमा चिया दिने भएकाले पनि थापाको व्यापार फस्टाएको उहाँको भनाइ थियो ।
केही वर्षयता विदेश जाने युवाको लर्काे लग्ने गरेकामा थापाले स्वदेशमा नै कम लगानी गरेर पनि मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्नुभएको छ । बढी पैसा कमाउने लोभमा विदेश पलायन हुने युवाले थापाबाट पाठ सिकेर स्वादेशमै कमाउने बाटो खोज्नु जरुरी रहेको नागरिक समाजका अगुवा अशोक मेहतरले बताउनुभयो ।