काठमाडौं
गायक यश कुमार जातीय विभेदको समस्यालाई गीतमार्फत जबर्जस्त ढंगले उठाउँछन् । एक हिसाबले समाजमा व्याप्त जातीय र वर्गीय विभेदका समस्यालाई संगीतमार्फत उठाउने एक अभियन्ता हुन् भन्दा पनि हुन्छ उनलाई ।
करिब दुई दशकअघि ‘मैले छोएको पानी चल्दैन’ गीत उनको सांगीतिक पहिचान बनेर आएको थियो, जुन गीतमा उनले जातीय छुवाछूतको विषयलाई उठान गरेका थिए । यहाँसम्म आइपुग्दा यशकुमारलाई समाजमा रहेका विभिन्न खाले विभेदका समस्यालाई गीतमार्फत पोख्नु आफ्नो नियमित कर्म झैं लाग्छ ।
यसकै निरन्तरतास्वरुप उनले पछिल्लो पटक ‘तिमी छौ र त’ गीत ल्याएका छन् । जसमा उनले पूर्वी नेपालको लिम्बू समुदाय र बाहुन समुदायबीचको प्रेम र त्यसमा परिवारबाट देखा पर्ने जातीय अहमताको विषयलाई उठाएका छन् ।
यो साता अनलाइनखबरको गफ स्टेसनमा अन्तर्वार्ताका लागि आइपुगेका यश कुमारले समाजको यथास्थिति, चेत, गतिशीलता, विदेशिरहेको देश, नेपाली संगीत, आफ्ना भावी योजनाबारे कुराकानी गरे ।
‘समाजमा दलित र गैरदलितबीचको जातीय विभेद र छुवाछूतका विषयवस्तुलाई यसअघि धेरैपटक गीतमार्फत उठाएँ, कति ठाउँमा बोलें पनि,’ यश कुमार भन्छन्, ‘समाजलाई ठेकेदारहरुले यसरी खण्डखण्डको विभेदको सिंढी बनाएका छन् कि पानी चल्ने भनिने समुदायमा पनि जातीय विभेद चर्को देखिन्छ । लिम्बू, राई, गुरुङ, यतिसम्म कि क्षेत्री साथीहरुले पनि तपाईंको पीडा त गीतमार्फत पोख्नुभयो हाम्रो कसले पोखिदिने होला भनेर भन्नुहुन्थ्यो । जातीय विभेदको समस्या राष्ट्रको समस्या हो भनेर मैले नयाँ गीतमार्फत उठाउने कोसिस गरेको हुँ ।’
दुई दशकदेखि यो विषयमा गीतमार्फत बोलिरहँदा समाज भने खासै गतिशील नभएको हो कि भन्ने यश कुमारलाई लाग्छ । समाज शान्त भएको बेला, जातीय विभेदका कुनै समाचार नआएको बेला साँच्चै समाज अघि बढेछ भन्ने उनलाई लाग्छ । ‘तर जब पूर्व-पश्चिम, उत्तर-दक्षिण कतैबाट जातीय विभेदका घटनाको न्युज आउँछ, तब समाज त जहाँको त्यहीं पो रहेछ जस्तो लाग्छ,’ उनी भन्छन्, ‘राजनीतिक नेतृत्वले चाहे जे पनि हुन्छ । तर के गर्नु उनीहरुलाई पनि जमातको लोभ हुन्छ, भोट घट्ने चिन्ताले यस विषयमा ठोस आवाज नै उठाउँदैनन् । यति भनौं बुझ्नेलाई ईशारा नै काफी छ ।’
समाजमा सबैखाले विभेदलाई निर्मूल पारेर एकअर्कासँग हातेमालो गरी प्रकृतिको मज्जा लिंदै सार्थक जीवन जिउने वातावरण बनाउन सबै लाग्नुपर्ने उनी बताउँछन् । ‘जन्म र मृत्यु मात्रै यथार्थ हो । समाजका ठेकेदार भनिनेहरुले नै मान्छे-मान्छेबीचमा जात मात्रै होइन, धर्म, वर्गमा विभाजन गरे । त्यो आफ्नो फाइदाका लागि,’ यश कुमार भन्छन्, ‘त्यसैले यसलाई राज्यले चाहे क्षणभरमै हटाउन सक्छ । किनकि सिस्टमले गर्ने हो सबै ।’
यश कुमार पछिल्लो समय म्युजिक फिल्ममा बढी आकर्षित भइरहेका छन् । यसको अर्थ सामान्यतया गीत पाँच मिनेटको हुन्छ, तर त्यसलाई कथानक भिडियो बनाएर १०-१५ मिनेटको बनाइन्छ । उनलाई गफ स्टेसनमा सोधियो- अबको संगीतको समय अडियोको भन्दा बढी भिडियोकै हो ?
‘हुन त गीत सुन्ने नै हो । म्युजिकल फिल्म समयको माग हो भन्दा पनि हुन्छ । गीत सुन्ने मात्रै हेर्ने भयो अहिलेको प्रविधिले । गीतमा एउटा संस्कृतिलाई नै देखाउने कोसिस गर्दा लामो हुन पुगेको हो,’ उनी प्रष्ट्याउने कोसिस गर्छन्, ‘खासमा अडियोको लागि आकर्षित गर्न पनि भिडियो गतिलो बन्न जरुरी देखिन्छ अहिले । फेरि फिल्ममा दुई-अढाई घण्टा लगाएर भनिने कुरा म्युजिकल फिल्ममा छोटो समयमा भन्न सकिने भयो । साथै अडियन्समाझ पनि सजिलै पुगिने भयो । यो एउटा समयको माग भनौं तर पनि गीतको अडियो नै राम्रो हुनुपर्छ ।’
यश कुमारले नेपाली संगीतमा लागेर सबथोक पाए । नाम, दाम, इज्जत, प्रतिष्ठा सबै । विद्रोही चेत भएका यी गायकलाई नेपाली संगीतमा खट्किएको पक्ष चाहिं के लाग्छ ? ‘नेपाली संगीतमा सोचेजस्तो गर्न अझै बाँकी छ । आफ्ना सिर्जना चर्चित बनाएर, त्यसैलाई आधार बनाएर जति पनि विदेश पलायन हुन बाध्य हुनुभएका कलाकार साथीहरुलाई फेरि देशमा फर्काउनु छ । संगीत संसारकै ठूलो बजार हो तर सरकारले यसलाई व्यवस्थित बनाउन सकेको छैन । यसबारे आवाज उठाउनु छ,’ यश कुमार भन्छन् ।
अहिलेको डिजिटल प्रविधिको उच्चतम प्रयोगमा सरकार चुकिरहेको यश कुमारलाई लाग्छ । सरकारले कलाकार र सर्जकको रोयल्टी अधिकारलाई व्यवस्थित गर्न नसकेकोमा उनको ठूलो गुनासो छ ।
‘रोयल्टीको दायरामा ल्याउने विषयलाई सरकारले व्यवस्थित गरिदिनुपर्यो । यहाँ होटल, रेस्टुरेन्ट, यातायातमा संगीत बजिरहेको छ तर त्यसबाट सर्जक र कलाकारलाई केही रोयल्टी आउने वातावरण छैन,’ उनी गुनासो गर्छन्, ‘संगीत र फिल्म बजाएर उनीहरुले यात्रुलाई होल्ड गरेर व्यापार बढाएका छन् तर सर्जक र कलाकारलाई हात लाग्यो शून्य । फ्रीमा कसैको व्यवसायमा संगीत प्रयोग गर्न पाइँदैन नि, यो विश्वव्यापी मान्यता हो ।’
उनी कलाकारहरु विदेश पलायन हुनुमा सरकार पनि भागीदार भएको औंल्याउँछन् । ‘आफ्नो सिर्जनाले सन्तानको भविष्य पनि बनाउने हो, यहाँ मानसम्मान पाएको कोही पनि कलाकारलाई न्युयोर्कमा गएर ट्याक्सी चलाउने रहर हुँदैन,’ उनी भन्छन्, ‘केही औंलामा गन्नेले मात्रै प्रगति गरेको देखेर हुँदैन । हजारौं सांगीतिक बजारमा आइरहेका हुन्छन् । उनीहरुलाई मोटिभेट कसले गर्ने । कलाकारलाई राष्ट्रका गहना भन्ने, संस्कृति प्रवर्द्धन गर्ने सिपाहीं भन्ने, तर ती संस्कृतिका आर्मीहरुलाई नै पलायन गराएपछि कहाँबाट चल्छ ?’
प्रविधिको उच्चतम सदुपयोग गर्नुपर्छ भन्ने मान्यता राख्ने यश कुमार नेपालमा टिकटक बन्दको निर्णयप्रति भने खुसी देखिए । टिकटकको सदुपयोगभन्दा दुरुपयोग बढी हुँदा स्तरीय सिर्जना गर्नेहरुलाई यसले खासै फाइदा नपुर्याएको उनको तर्क छ ।
सामाजिक सञ्जालमा व्यक्तिगत जीवन छरपस्ट हुँदा कलाकारलाई जुन स्टार भनेर सम्बोधन गरिन्छ, त्यसको महत्व घटेको यश कुमार बताउँछन् । ‘पहिले पहिलेका कन्सर्टमा धेरै भीआईपो शोहरु हुन्थे । सायद अप्सन पनि धेरै हुँदैनथ्यो । त्यतिबेला स्टार आकाशमा देखिनेजस्तै नै हुन्थ्यो, जोकोहीको पहुँचमा हुँदैनथे । तर जब त्यो स्टार धर्तीमा खसेपछि त्यसको भ्यालु हुँदैन । अहिले सोसल मिडियामा सहजै पहुँच हुनेभयो । यसले कलाकारको भ्यालु पनि घट्दै गएको हो कि जस्तो लाग्छ,’ उनी भन्छन् ।
यश कुमार गायन, संगीत सिर्जनामा मात्रै होइन, अभिनयमा पनि पोख्त छन् । उनले पाँचवटा फिचर फिल्ममा अभिनयसमेत गरेका छन् । पछिल्लो फिल्म ‘छिरिङ’ त उनी आफैंले निर्देशन गरे । उनले अभिनय गरेका फिल्ममध्ये ‘बाटोमुनिको फूल’बाट उनी प्रशंसित भए । तर यश कुमारलाई अहिले फिल्मभन्दा संगीत नै प्यारो लाग्छ ।
‘फिल्म चारवटा त पाइपलाइनमै छन् । तर त्यति प्राथमिकतामा छैन । चार करोड लगानी गरेर एक वर्ष लगाएर बनाएको फिल्मबाट पाइने क्रेडिट एक महिनामा मैले गीतबाट पाइरहेको छु भने किन फिल्म गर्ने ? फेरि कोही जुध्न पनि आउँदैनन् । घाटा लागेर प्रोड्युसर रिसाउलान् भन्ने पनि भएन । अडियन्स पनि संसारभरबाट पाइने भयो,’ उनी भन्छन्, ‘सेलिब्रेटीलाई दर्शक न चाहिने हो, चाहे जुनसुकै माध्यमबाट होस् । फिल्मका लागि हतार गर्दिनँ ।’
गफ स्टेसनको बिट मार्नेबेला यश कुमारले देशको परिस्थितिबारे चिन्ता जनाए । सबै युवा विदेश गइरहेको देख्दा देश नै खाली हुन लागेको त होइन ? भन्ने चिन्ताले उनलाई सोचमग्न बनाउँछ । उनले सरकारलाई आग्रह गरे, ‘देश खाली हुँदैछ । युवा जमात् यो देशमा के हुन्छ र भनेर बाहिर जाने सोचमा छ । हजारौं छोराछोरी विदेशमै आफ्नो सपना देखिरहेका छन् । संसारको सुन्दर देश नेपाल मानविहिन हुन लागे झैं लाग्छ । सचेत गराउन चाहन्छु सरकार छिटो आँखा खोल, विदेशमा गएका साथीहरुले त्यहाँ सिकेको सीप, हासिल गरेको योग्यता र अनुभवलाई स्वदेश फर्किएर सदुपयोग गर्ने वातावरण बनोस् ।’