काठमाडौं ।
परराष्ट्रमन्त्री एनपी साउदले नेपालमा कोरियाली लगानीलाई स्वागत गर्न तयार रहेको बताएका छन् । नेपाल र कोरियाको द्वैत्य सम्बन्ध सुरु भएको ५०औँ वर्षगाँठको अवसरमा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साउदले हाल नेपालमा लगानी गरिरहेका कोरियाली कम्पनीको प्रशंसा समेत गरे ।
‘नेपालमा लगानी गरिरहेका सामसंग टेलिभिजन, हुन्डाई मोटर्सलगायत अन्य कोरियाली लगानीकर्ता कम्पनीहरूको प्रशंसा गर्न चाहन्छु । नेपालमा लगानीको सम्भावना खोज्दै चासो राख्ने कोरियाली कम्पनीहरूले आफ्नो लगानी विस्तार गरेको हेर्ने नेपालको चाहना छ’, मन्त्री साउदले भने, ‘यस वर्षको अप्रिलमा हुने लगानी शिखर सम्मेलनमा कोरियाली लगानीकर्ता र उद्यमीहरूको ठूलो संख्यामा उपस्थिति हुने अपेक्षासहित स्वागत गर्न तयार छौं ।’
दुई देशबीच आर्थिक सहयोग विस्तार गर्ने प्रचुर सम्भावना रहेको भन्दै उनले ती सम्भावनाको अन्वेषण गरी द्विपक्षीय व्यापार र लगानी अभिवृद्धि गर्न आग्रह गरे । ‘कृषि, ऊर्जा, पर्यटन र सूचना प्रविधिको क्षेत्रमा साझेदारीलाई सुदृढ बनाऔं’, उनले भने ।
साथै, दुई देशबीच उच्चस्तरीय भ्रमणको आदानप्रदानले द्विपक्षीय सम्बन्धलाई गति दिने भन्दै उनले कूटनीतिक सम्बन्धको स्वर्ण जयन्ती उत्सवको अवसरमा छलफल गर्न सकिने बताए ।
कोरियाबाट फर्केका नेपालीले दुई राष्ट्रबीचको जीवन्त पुलको काम गरेको भन्दै उनीहरुको अनुभव र विशेषज्ञताले अन्य युवाहरु र फर्केका प्रवासीहरुलाई मातृभूमिमा अवसरहरु खोज्न मद्दत गर्ने आशा साउदले व्यक्त गरे ।
साथै, घनिष्ठ मित्रको रूपमा नेपालका तर्फबाट छोटो अवधिमा कोरियाले हासिल गरेको प्रगति, विकास र समृद्धिको उत्कृष्ट यात्राको प्रशंसा समेत गरे । नेपालले कोरियाको सफलताका कथाहरूबाट सिक्न सक्ने भन्दै उनले पारस्परिक रूपमा लाभदायक क्षेत्रमा साझेदारी बढाउन चाहेको समेत बताए ।
नेपालले सन् २०२६ मा अल्पविकसित देशबाट विकासोन्मुख राष्ट्रको स्थितिमा स्तारोन्नति गर्न लागेको भन्दै त्यसमा कोरियाको समर्थन रहनेमा विश्वास व्यक्त गरे ।