महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री पुष्पकमल दाहाल
महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री पुष्पकमल दाहाल
    • बेल संचार

    • २२ बैशाख २०८१, शनिबार

 
ललितपुर

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महाँकाल गाउँपालिकाको कृषि क्षेत्रको विकास, धार्मिक पर्यटन प्रवद्र्धनका लागि आगामी आर्थिक वर्ष २०८१÷८२ को नीति तथा कार्यक्रममा समेटिने बताउनुभएको छ ।

प्रज्ञा–स्मृति प्रतिष्ठानको आयोजनामा ललितपुरको महाँकाल गाउँपालिकामा आजदेखि सुरु भएको ‘प्रकाश दाहाल स्मृति बागमती प्रदेशस्तरीय अन्तरपालिका भलिबल प्रतियोगिता’को उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री दाहालले कृषि क्षेत्रको विकास र दुग्ध उत्पादन तथा बिक्री वितरणका लागि सरकारका तर्फबाट थप सहज बनाइने बताउनुभयो ।

“उपत्यकाभित्र रहेको ललितपुरको यो क्षेत्र विकासका दृष्टिकोणले दुर्गम बनाइएको महसुस गरेँ । एक घण्टामा काठमाडौँ पुग्ने गरी सडकको विस्तार आवश्यक छ । यहाँको सडक सञ्जालको स्तरोन्नतिका लागि यस पटकको बजेट, नीति तथा कार्यक्रममा सम्बोधन गर्ने व्यवस्था हुनेछ”, उहाँले भन्नुभयो ।

प्रधानमन्त्री दाहालले यस क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा घोषणा गर्न प्रदेश सरकारलाई आग्रह गर्ने र सङ्घले पर्यटकीय गाउँपालिका घोषणा गर्न पहल गर्ने बताउनुभयो । आफ्नो दोस्रो कार्यकालमा भलिबललाई राष्ट्रिय खेल घोषणा गरेर स्थापित गरेको स्मरण गर्नुहुँदै उहाँले खेल क्षेत्रलाई व्यापकता दिन खेलाडीले अनुशासितरुपमा खेल प्रदर्शन गरी सभ्य र भब्य बनाउन आग्रह गर्नुभयो ।

उद्घाटन कार्यक्रममा महाँकाल गाउँपालिकाका अध्यक्ष गणेशबहादुर केसीले धार्मिक पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण मानिएको गाउँपालिकामा बैतर्णीधाम, कालेश्वर महादेव मन्दिर, लोङ्तोङ गुम्बा, सिम्बा झरना, चनढुङ्गालगायत क्षेत्र रहेको र यसलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउन आवश्यक बजेटका लागि सङ्घीय तहबाट व्यवस्थापन गरिदिन आग्रह गर्नुभयो ।

प्रतियोगिता संयोजक डोल्मा माया गोलेले प्रतियोगिता नेपालको राजनीतिक तथा सामाजिक आन्दोलनका लागि गरेको योगदानको स्मरण गर्नुहुँदै समाज र राष्ट्रका लागि उहाँले अतुलनीय योगदान पु¥याउनुभएको बताउनुभयो । विकासको दृष्टिकोणले पछाडि परेको यस क्षेत्रको कृषि, पर्यटन तथा धार्मिक क्षेत्रको विकासमा यस किसिमको खेलकुद प्रतियोगिताबाट स्थानीय विकासका लागि अवसरको ढोका खोल्न मद्दत पुग्ने बताउनुभयो ।

महाँकाल गाउँपालिकास्थित महाँकाल माविको प्राङ्गणमा भइरहेको प्रतियोगिताको सुभारम्भको पहिलो खेलमा महाँकाल गाउँपालिका ‘ए’ र मकवानपुरको हेटौँडा उपमहानगरपालिकाबीच प्रतिस्पर्धा भइरहेको छ । प्रतियोगितामा १७ टोलीको सहभागिता रहेको संयोजक गोलेले जानकारी दिनुभयो । कूल पुरस्कार राशि रु १२ लाख रहेको उक्त प्रतियोगिताको विजेताले रु तीन लाख, उपविजेताले रु दुई तथा तृतीय हुने दुई टोलीले रु एक एक लाख पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतियोगिताका उत्कृष्ट प्रशिक्षक र खेलाडी पाँच जनालाई जनही रु ५० हजार पुरस्कार दिइने छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) र बागमती प्रदेश खेलकुद विकास परिषद्को सहयोग रहेको सो प्रतियोगिताको सह आयोजक ललितपुर जिल्ला खेलकुद विकास समिति रहेको छ । प्रतियोगितामा नेपाल भलिबल सङ्घको प्राविधिक सहयोग रहेको आयोजकले जनाएको छ ।

साताकाे चर्चित
सम्बन्धित