काठमाडौँ
हिमालमा जलवायुले पारेको असर न्यूनीकरणको समाधान खोजिनुपर्नेमा सरोकार भएकाहरुले चासो जनाउनुभएको छ । हिमालमा जलवायु परिवर्तनले गरेको असरबारे अन्तर्राष्ट्रियजगत्को ध्यानाकर्षण गराउन नेपालको आयोजनामा काठमाडौँमा आजदेखि सुरु भएको ‘अन्तर्राष्ट्रिय संवाद’ मा उहाँहरुले हिमालमा जलवायुले पारेको असर न्यूनीकरणमा चासो दिनुभएको हो ।
संवादको उद्घाटनसत्रमा नेपाल सरकारका मुख्य सचिव डा वैकुण्ठ अर्यालले जलवायुका कारण हिमालको हिउँ पग्लँदै गएर कालापत्थरमा परिणत भइरहेको भन्दै समयमा नै सचेत रहन आवश्यक रहेको जानकारी दिनुभयो ।
“गत वर्षको जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन कोप–२८ मा पनि जलवायु परितर्वनका कारण हिमाली क्षेत्रमा परेको असरको विषयमा चर्चा भएको थियो, यसले आज यो संवाद गर्न सफल भएका छौँ”, उहाँले भन्नुभयो, “आगामी जुन पहिलो साता हुने साब्टाको छलफलमा पनि यसले एउटा मार्गदर्शन प्रदान गर्नेछ ।”
हिमालका ८० प्रतिशत मानिसलाई हिमालले नै स्वच्छ खानेपानी वितरण गरेको भन्दै खानेपानीको स्रोत जोगाउनका लागि पनि हिमाल जोगाउन जरुरी रहेको मुख्य सचिव अर्यालले बताउनुभयो ।
वन तथा वातावरण मन्त्रालयका सचिव डा गोविन्दप्रसाद शर्माले पछिल्लो समय जलवायु परिवर्तनको प्रभावका कारण पर्वतीय क्षेत्रका स्थानीय समुदायको जनजीवनमा प्रभाव पारिरहेको बताउनुभयो ।
“पर्वतीय क्षेत्रमा जलवायु परिवर्तनले नराम्रो असर गरिरहेको छ । वन डढेलो, हिउँ पग्लने, हिमताल विस्फोट हुने, समुद्री सतह बढ्नेलगायत समस्या बढिरहेका छन्”, उहाँले भन्नुभयो, “जलवायु परिवर्तनको असरका कारण हिमाल र हिमाली क्षेत्र जोखिममा परेको छ । पर्वतीय क्षेत्रलाई जलवायुको सङ्कटबाट बचाउन समयमा नै सबैले ध्यान दिन जरुरी छ ।”
अमेरिकी सहयोग नियोगकी निर्देशक कारेन वेल्चले नेपालको जैविक विविधता संरक्षण तथा वातावरणको क्षेत्रमा आफूहरुले साझेदारी गरिरहेको भन्दै आगामी दिनमा पनि साझेदारीलाई निरन्तरता दिने जानकारी दिनुभयो ।
खाद्य तथा कृषि सङ्गठन (एफएओ) को पर्वतीय साझेदारी सचिवालका रोसालौरा रामियोले हिमाली क्षेत्रमा जलवायु परिवर्तनले ल्याएको असरको तथ्याङ्क प्रमाणित भएको भन्दै पर्वतीय देशहरुले भोगेका चुनौतीको सामना गर्न यस्ता अनुभव आदानप्रदान कार्यक्रम महत्वपूर्ण रहने बताउनुभयो ।
किर्गिस्तानका विशेष प्रतिनिधि डिनारा केमेलोभाले विश्वको हिमाल पहाड भनेको विश्वको ३० प्रतिशत जनता आश्रितस्थल रहेको जनाउँदै यसको संरक्षणमा सबै जुट्न आह्वान गर्नुभयो । साथै उहाँले हिमाल स्वच्छ खानेपानीको स्रोत र जलविद्युत्का लागि पनि अपरिहार्य भएकाले यसको संरक्षणमा विश्वजगत्कै चासो हुनुपर्नेमा जोड दिनुभयो ।
संयुक्त राष्ट्रसङ्घ नेपालका आवासीय संयोजक हन्ना सिङ्गर हम्दीले हिमाल र त्यहाँका जनतालाई जलवायुले असर गरिरहेको भन्दै हिमालको संरक्षणका लागि सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो ।
संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी वैज्ञानिक र प्राविधिक सल्लाहका लागि सहायक निकाय (साब्टा)का अध्यक्ष ह्यारी भिरेउले जलवायु परिवर्तनको असरका कारण बाढी, पहिरोलगायत विपद् निम्तिरहेको भन्दै जलवायु परिवर्तनको असर समाधान सबै मिले खोजिनुपर्नेमा जोड दिनुभयो ।