व्यावसायिक पशुपालन गर्दै दाङका बाबुराम   
व्यावसायिक पशुपालन गर्दै दाङका बाबुराम   
    • बेल संचार

    • २३ जेष्ठ २०८१, बुधबार

देउखुर (दाङ)

घोराही उपमहानगरपालिका–६ बचाहामा बाबुराम वलीले विगत तीन वर्षदेखि व्यावसायिक पशुपालन गर्दै आउनुभएको छ । बीस वर्ष दुबईमा रोजगारी गरेर फर्केपछि उहाँले ‘बहुउद्देश्यीय कृषि तथा पशुपन्छी’ फार्म दर्ता गरी व्यावसायिक पशुपालन गर्न थाल्नुभएको हो ।

उहाँका फार्ममा लैना भैँसीसँगै एकनासका पाडापाडी आरामले बसेका देखिन्छन् । बाबुरामले फार्म श्रीमती विमला वलीका नाममा दर्ता गर्नुभएको हो । महिलाका नाममा व्यवसाय दर्ता गर्दा सहुलियत पाइने भएकाले यसो गरेको उहाँको भनाइ छ । बाबुरामले ३६ वटा भैँसी किनेर व्यवसाय सञ्चालन गरेको बताउनुभयो । अहिले फार्ममा आठ दुहुना भैँसी र तिनका आठवटा पाडापाडी रहेका भन्दै देउखुरीको बेलामा नौवटा भैँसी रहेका उहाँले बताउनुभयो ।

“दूध दिँदासम्म आफैँले राख्ने दूध दिन छोडेपछि ९बकेर्नो० भैँसीलाई देउखुरीको बेला गाउँपालिकाका यादव समुदायलाई मासिक रकम दिएर पाल्न लगाउँछौँ । भैँसी बियाउने भएपछि फेरि फार्ममा ल्याउछौँ”, बाबुरामले भन्नुभयो । यसरी आफूलाई पनि सहज भएको र यादव समुदायका बेरोजगार युवालाई केही आम्दानी पनि भएको उहाँको भनाइ छ ।

बिहान–बेलुका गरी दैनिक ९६ लिटर दूध बजार पु¥याउने गरेको बाबाुरामले बताउनुभयो । महिनाको रु ३० हजार भैँसीको दानापानी र अन्य खर्च कटाएर रु तीन लाख ४० हजार आम्दानी भइरहेको उहाँले जानकारी दिनुभयो । आफैँले मोटरसाइकलमा क्यान राखेर दूध घोराही बजारका ग्राहकका घरघरमा पु¥याउने गरेको उहाँको भनाइ छ । “आफ्नो काम गर्न लाज मान्नु हँुदैन । पसिनाको कमाई मीठो हुन्छ । भैँसीको दूधका साथै मल पनि बिक्री हुन्छ”, उहाँले भन्नुभयो ।

गत वर्ष दूध बिक्री गरेर जम्मा भएको रकमले साढे दुई कट्ठा जग्गा थपेको बाबुरामले बताउनुभयो । “भैँसीलाई चाहिने घाँस, पराल घरमै उत्पादन हुने भएकाले बाहिरबाट किन्नु पर्दैन,” उहाँले भन्नुभयो, “गोठको एउटा कोठामा बरसिम घाँस, गहुँको भुस राखेको छु ।”

वार्षिक रु २० हजारमा साढे एक बिघा खेत भाँडामा लिएर घाँसखेती गरिरहेको बाबुरामको भनाइ छ । हालसम्म स्थानीय तह वा सरोकार भएका निकायबाट कुनै अनुदान वा तालिम नपाएको भन्दै उहाँले कहाँबाट कसरी सहयोग लिने भन्ने अनभिज्ञ रहेको बताउनुभयो ।

बाबुरामले भैँसीबाहेक १७ वटा खसी, बोका र बाख्रा पाल्नुभएको छ । “भैँसीका लागि दानापानी जुटाउन परिहाल्छ, त्यसमा अलिकति थपे बाख्रालाई पुग्छ । एउटै मेहनतमा दोहोरो फाइदा लिन सकिने भएकाले बाख्रा पनि पालेको हो,” उहाँले भन्नुभयो । उहाँका अनुसार गत वैशाखमा ७० किलोको खसी कटाउँदा रु ५६ हजार आम्दानी भएको थियो । बाख्रापालनबाट दैनिकरुपमा आम्दानी नभए पनि मासिकरुपमा हुने उहाँको भनाइ छ ।

रोल्पाको तिला गाउँपालिका पुरानो बासस्थान भएका वली नेपाल आर्मीमा भर्ना भई तालिम गरी सेनामा आबद्ध हुनुभएको थियो । तत्कालीन समयमा मुलुकमा जनयुद्ध चलिरहेकाले सेनाको काम छोडेर भारत गएको उहाँले बताउनुभयो । भारतमा छ महिना काम गरेर फर्केपछि रु ८० हजारमा घोराही–६ बचाहामा जग्गा किनेको बाबुरामले जानकारी दिनुभयो ।

“पछि दुबईका लागि भिसा लगाएर गएँ । २० वर्ष दुबई बसेपछि स्वदेश मै केही गर्नुपर्छ भन्ने लागेर स्वदेश फर्केर पशुपालन थालेको हुँ”, उहाँले भन्नुभयो, “परिवारसँगै बसेर काम गर्दा विदेशको तुलनामा सहज हुनाका साथै आम्दानी पनि मनग्ये हुने रहेछ ।” उहाँले युवालाई विदेश जान रोक्नका लागि तीनै तहका सरकारले सीपमूलक तालिमका साथै रोजगारीका अवसर सृजना गर्नुपर्नेमा जोड दिनुभयो ।

साताकाे चर्चित
सम्बन्धित