बोसिया खेल प्रतियोगिता सम्पन्न
बोसिया खेल प्रतियोगिता सम्पन्न
    • शर्मिला विश्वकर्मा

    • ३० जेष्ठ २०८१, बुधबार

काठमाडौँ

महानगरपालिका, सामाजिक विकास विभागले अपाङ्गता भएका व्यक्तिहरूका लागि नेपाल बोसिया संघको सहकार्यमा काठमाडैमा उपत्यका व्यापी बोसिया खेलकुद प्रतियोगिता सम्पन्न गरेको छ । पूर्ण र अति असक्त ( मस्तिष्क पक्षाघात, मस्कुलर डिष्ट्रोफी, सिवियर स्पाइनल कर्ड इन्जुरी ) अपाङ्गता भएका व्यक्तिहरूका लागि यही जेठ २७ गते देखि २९ गते सम्म राष्ट्रिय टेबुल टेनिस प्रशिक्षण केन्द्र लैनचौरमा उक्त प्रतियोगिता गरिएको थियो । २७ गते सञ्चालित बोसिया खेल प्रतियोगिताको उद्घाटन काठमाडौँ महानगरपालिका वडा नै २६ का वडा अध्यक्ष ख्याम प्रसाद तिवारीले बोसिया खेल खेलेर गर्नु भयो ।

साथै उहाँले अपाङ्गता भएका व्यक्तिहरूको खेलकुदको विकासका लागि सबैले सहयोग गर्नु पर्ने बताउनु भयो । यस बोसिया खेलकुद प्रतियोगिताको समापन २९ गते मङ्गलवार भएको थियो । यसै क्रममा यस समापन कार्यक्रमका प्रमुख अतिथि एवं काठमाडौँ महानगरपालिका सामाजिक विकास विभागकी प्रमुख विमला कोइराले अपाङ्गता भएका खेलाडीहरूलाई मेडल तथा प्रमाण पत्र वितरण गर्दै अपाङ्गता भएका व्यक्तिहरूको खेलकुदको विकासको लागि काठमाडौँ महानगरपालिका संवेदनशील रहेको भन्दै यहाँका सार्वजनिक स्थलहरू अपाङ्गता अनुकूल बनाउने बताउनु भयो । साथै उहाँले अपाङ्गता भएका व्यक्तिहरूको खेलकुद तथा अन्य कार्यक्रमहरू सञ्चालन गर्नका लागि आवश्यक बजेट व्यवस्थापनका लागि पनि सक्दो प्रयास गर्ने कुरामा जोड दिनु भयो । यस बोसिया खेल प्रतियोगिताका प्रमुख प्रशिक्षक बाबुकृष्ण रञ्जितले यस्ता प्रकारका अपाङ्गता भएका व्यक्तिहरूको खेलकुदको विकासको लागि राज्यले कार्यक्रमहरू ल्याउनु पर्ने बताउनु भयो ।

साथै यस्ता प्रकारका अपाङ्गता भएका व्यक्तिहरूका लागि विभिन्न समयमा मैत्रीपूर्ण खेलकुद प्रतियोगिता गर्नु पर्ने, यसका लागि सबैले आवश्यक सहयोग गर्नु पर्ने कुरामा जोड दिँदै भविष्यमा पनि यो बोसिया खेललाई निरन्तरता दिनु पर्ने बताउनु भयो । त्यसै गरी अपाङ्गता भएका व्यक्तिहरूका लागि नेपाल बोसिया संघकी अध्यक्ष गोमा देवी पौडेलले बोसिया खेल मार्फत पूर्ण र अति असक्त अपाङ्गता भएका व्यक्तिहरू ( मस्तिष्क पक्षाघात, मस्कुलर डिष्ट्रोफी, सिवियर स्पाइनल कर्ड इन्जुरी ) अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्यमा सुधार हुने, मनोरञ्जन हुने तथा उनीहरूमा आत्म विश्वास बढ्ने बताउँदै उनीहरूलाई समाजमा घुलमिल गराउनका लागि सहयोग हुने बताउनु भयो ।

साथै उहाँले यस्ता खेलले समाजमा अपाङ्गता भएका व्यक्तिहरू प्रति जनचेतना पनि जाग्ने र यस विषयमा अभिभावक तथा सरोकारवाला निकायहरू संवेदनशील हुनु जरुरी रहेको बताउनु भयो । सो बोसिया खेल प्रतियोगितामा ( मस्तिष्क पक्षाघात, मस्कुलर डिष्ट्रोफी, सिवियर स्पाइनल कर्ड इन्जुरी ) अपाङ्गता भएका ५० जना खेलाडीहरूको सहभागिता रहेको थियो ।

यी खेलाडीहरू १५ वटा विद्यालय र संस्थाबाट सहभागी भएका थिए । खेलाडीहरूले एकल, जोडी, समूहगत रूपमा प्रतिस्पर्धा गरेका थिए । यस उपत्यका व्यापी बोसिया खेल प्रतियोगितामा मस्तिष्क पक्षाघात तर्फ खुट्टाले खेल्ने समूहमा बुध राई प्रथम, समीर थापा मगर दितिय र आकार थापाले तृतीय स्थान प्राप्त गर्न सफल भएका थिए ।

त्यसै गरी जोडी समूहमा रितेश गुरुङ र सुमन पलिखेल प्रथम, रुपेश लामिछाने र पलोसा नेपाली दितिय र चुनिमाया गुरुङ र रिया श्रेष्ठले तृतीय स्थान हासिल गरेका थिए । त्यसै गरी ३ / ३ जनाको समूहगत खेलमा अशोक बस्नेत, प्रत्युश कार्की र बिनु थापा प्रथम, रोशनी खत्री, रश्मि खनाल, शुभेच्छा खतिवडा दितिय र उमेशराज कार्की, सुरुजन राउत र लक्ष्मी मगरको समूहले तृतीय स्थान प्राप्त गरेका थिए । मस्तिष्क पक्षाघात अपाङ्गता भएका विशल श्रेष्ठ र समीर खड्काले जोडीको र जीवन वाइबा, सिमान राई, किष्मत खत्रीले ३ /३ जनाको समूहले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए ।

र्यानम्पको सहयोगमा खेलिने बोसिया खेल प्रतियोगितामा विकेश अधिकारी प्रथम, कोष बहादुर थापा दितिय र विक्रम हयांगोजु तृतीय भएका थिए भने मस्कुलर डिष्ट्रोफी तर्फको खेलमा आयन पुजारी प्रथम, आर्या दाहाल दितिय र ललिता बस्नेतले तृतीय स्थान प्राप्त गर्न सफल भएका थिए । यस बोसिया प्रतियोगितामा उत्कृष्ट खेलाडीको उपाधि मस्तिष्क पक्षाघात अपाङ्गता भएका खेलाडी बुध राईले प्राप्त गर्न सफल भएका थिए ।

साताकाे चर्चित
सम्बन्धित