जुम्ला
जुम्ला कनकासुन्दरी गाउँपालिका वडा नम्बर ८ लाई शतप्रतिशत बालबालिका विद्यालयको पहुँचमा पुगेको घोषणा गरिएको छ । विद्यालय बाहिर रहेका सबै बालबालिका विद्यालयको पहुँचमा पुगेका छन् । वडामा रहेका रोकायावाडा, पाउसेरावाडा, भण्डारीवाडा, भट्टवाडा, सुमलगाउँ र सञ्ज्यालवाडाका ४३७ घरधुुरीका ३ सय ५८ जना बालबालिका विद्यालय पहुँचमा पुगेको सुनिश्चित गरिएको छ । विद्यालय बाहिर रहेका ६ जनालाई विद्यालयमा भर्ना गरिएपछि पुरै वडालाई शतप्रतिशत बालबालिका विद्यालय पहुँचमा पुगेको घोषणा गरिएको हो ।
कनकासुुन्दरी ८ मा रहेको पाण्डवगुफा माविमा शतप्रतिशत बालबालिकाको पहुँच पुगेको प्रधानाध्यापक दिपेन्द्र रोकायाले बताउनु भयो । उहाँले प्रतिवेदन प्रस्तुत गर्दै सबै बालबालिका विद्यालयको पहुँचमा पुगेको बताउनु भयो । कोही पनि बालबालिलका विद्यालय बाहिर नरहेको उहाँको भनाइ छ । अनिवार्य तथा निःशुल्क आधारभुत शिक्षा सुनिश्चित वडा घोषणाले सबै बालबालिकाको पढ्ने अधिकार सुनिश्चित भएको उहाँले बताउनु भयो । विद्यालय बाहिर रहेका ६ जना बालबालिका विद्यालय पहुँचमा पुगेको रोकायाले बताउनु भयो । सबै बालबालिका विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता भन्ने नाराका साथ शतप्रतिशत बालबालिका विद्यालयमा पुगेको घोषणा गरिएको हो । क्याड नेपालको सहजीकरण, प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोग तथा स्थानीय सरकारको आयोजनामा वडालाई शतप्रतिशत बालबालिका पहुँचमा पुगे पछि वडालाई घोषणा गरिएको हो । गाउँका सबै बालबालिका विद्यालय पहुँचमा पुगेका छन् । विद्यालय क्षेत्र बाहिरका बाबालिकालाई विद्यालयको पहुँचमा ल्याइएका कारण विद्यालय बाहिर रहेका बालबालिकामुक्त घोषणा गरिएको वडाध्यक्ष धनवहादुुर कामीले बताउनु भयो ।
बालबालिकालाई विद्यालय पहुँचमा ल्याउनका लागि घरधुरी सर्वेक्षण, विद्यार्थी खोज अभियान, अभिभावक र वडा बैठक, घरदैलो अभियान, अभिभावक परामर्श कार्यक्रम, विद्यालयमा मैत्रीपूर्ण संरचना निर्माण, शौचालय, खानेपानी, घेराबार र गाउँपालिकाको अनुगमन लगायत विभिन्न सूचक पूरा गरेर पुरै वडा घोषणा गरिएको उहाँले बताउनु भयो । वडाका सबै बालबालिकालाई शतप्रतिशत विद्यालय हाताभित्र रहेको सुनिश्चित घोषणा गरिएको उहाँले बताउनु भयो । घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष दामोदर प्रसाद आचार्यले विद्यालय बाहिर बालबालिका नरहेको घोषणा गरिनुले सबैले शिक्षा पाएको बताउनु भयो ।
गुणस्तरीय शिक्षाका बारेमा शिक्षक र अभिभावक गम्भीर हुनुपर्नेमा उहाँले जोड दिनु भयो । शिक्षा पाउने अधिकारबाट बालबालिकालाई प्रत्याभूति गर्न सबै निकाय चनाखो हुनुपर्ने उहाँको भनाइ छ । घोषणा गरेर मात्रै नहुने भन्दै उहाँले पूर्णरूपमा कार्यान्वयन गर्नुपर्ने सुझाव दिनुभयो । आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई प्लान इन्टरनेश्नल नेपाल र क्याड नेपालले सहयोग गरेका कारण सबै बालबालिका विद्यालयको पहुँचमा पुगेको उहाँले बताउनु भयो ।
शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख जीवन रोकायाले चार वर्ष देखि १६ वर्षसम्मका सबै बालबालिका विद्यालयको पहुँचमा पुगेको बताउनु भयो । सरकारले सबै बालबालिकालाई विद्यालयमा भर्ना गर्न अनुरोध गरेको उहाँको भनाइ छ । शारीरिक र आर्थिक हिसाबले विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयमा ल्याउन सफल भएको रोकायाले बताउनु भयो । नेपालको संविधानले सबै बालबालिकाले निःशुल्क अध्ययन गर्न पाउने व्यवस्था गरेको उहाको भनाइ छ । यहि असार महिनामा १, २, ३ र ४ लाई पनि शतप्रतिशत बालबालिका भर्ना भएको घोषणा गरिने उहाँले बताउनु भयो । विद्यार्थी सृष्ट भट्टले प्रतिस्पर्धा गर्न सक्ने शिक्षा प्रदान गर्न माग गर्नु भएको छ ।
उक्त कार्यक्रममा बाजागाजा , नाचगान र देउडा खेलले रमञ्चकारी बनाएर घोषणा गरिएको थियो ।