डा. भीम रावलद्वारा नयाँ पार्टीको तयारीबारे पत्रकार सम्मेलन
डा. भीम रावलद्वारा नयाँ पार्टीको तयारीबारे पत्रकार सम्मेलन
    • बेल संचार

    • १७ पुष २०८१, बुधबार

काठमाडौं ।

नेकपा एमालेबाट निष्कासनमा परेका नेता डा. भीम रावलले बुधबार आफ्नो भावी योजनाबारे जानकारी दिन काठमाडौंको कार्की बैंक्वेटमा पत्रकार सम्मेलन गर्दै छन्। उनी कम्युनिस्ट र उदारवादी विचारधारालाई समेट्ने गरी नयाँ पार्टी गठनको तयारीमा छन्।

गत २०७८ सालमा नेकपा एमालेको १० औं महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गरेका रावल महाधिवेशनपछि सल्लाहकार कमिटीमा राखिएका थिए। तर, उनले यो जिम्मेवारी स्वीकार गरेका थिएनन्। पछिल्लो समय पार्टीको निर्णयहरू, विशेष गरी भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङबाट जग्गा दानको विषयमा खुलेर विरोध गरेपछि उनलाई अनुशासन उल्लङ्घन गरेको भन्दै एमालेले १० पुसमा पार्टीबाट निष्कासन गरेको थियो।

पार्टीबाट निष्कासनपछि रावल नयाँ राजनीतिक मोर्चा बनाउने प्रयासमा जुटेका छन्। उनले नेपाली कांग्रेस (बीपी)का उपसभापति कर्ण मल्ल र सुदूरपश्चिम प्रदेशका स्वतन्त्र सांसद डा. तारा जोशीसँग भेटवार्ता गर्दै अन्यायमा परेका नेताहरूलाई एक ठाउँमा ल्याउने प्रयास गरिरहेका छन्। उनले “देशभक्त समाजवादी पार्टी” गठनको प्रस्ताव राखेको जानकारी प्राप्त भएको छ।

डा. रावलले आफ्नो नयाँ राजनीतिक योजनाबारे बुधबार दिउँसो १ बजे काठमाडौंको कार्की बैंक्वेटमा पत्रकार सम्मेलन गर्ने कार्यक्रम तय गरेका छन्। यसमा उनले नयाँ पार्टीको औपचारिक घोषणा गर्ने सम्भावना रहेको छ।

यो कदमले नेपाली राजनीति र वामपन्थी आन्दोलनमा नयाँ तरंग ल्याउने अपेक्षा गरिएको छ।

साताकाे चर्चित
सम्बन्धित