काठमाडौं ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले पुस महिनाभित्र सबै जिल्लामा राष्ट्रिय भूमि आयोग गठन गर्ने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीका अनुसार विगतमा अदालतमा मुद्दा परेका कारण ढिलाइ भएको थियो।
“केन्द्रमा राष्ट्रिय भूमि आयोग बनिसकेको छ। सबै जिल्लामा पुसभित्र गठन हुनेछ,” मन्त्री अधिकारीले भने।
मन्त्रीको जिम्मेवारी सम्हाल्नासाथ आयोगको कामलाई अघि बढाइएको उल्लेख गर्दै उनले भने, “तर, अदालतमा मुद्दा पर्यो। मुद्दा फिर्ता लिएर अघि बढ्न चार महिना लाग्यो। अब कुनै समस्या छैन।”
उनले पुस महिनाभित्र सबै जिल्लामा आयोग गठन गरेर माघदेखि काम सुरु गरिने जानकारी दिए।
यसैबीच, बुधबार राष्ट्रिय सभाअन्तर्गत संघीयता सुदृढीकरण तथा राष्ट्रिय सरोकार र समन्वय समितिमा गुठी विधेयकबारे छलफल भएको थियो।
छलफलपछि समितिले गुठी विधेयक जतिसक्दो छिटो ल्याउन सरकारलाई निर्देशन दिएको छ।