स्याङ्जाबाट यसवर्ष १ अर्ब १२ करोडभन्दा बढीको सुन्तला बिक्री
स्याङ्जाबाट यसवर्ष १ अर्ब १२ करोडभन्दा बढीको सुन्तला बिक्री
    • बेल संचार

    • १७ पुष २०८१, बुधबार

वालिङ ।

स्याङ्जा जिल्लाबाट यसवर्ष सुन्तला बिक्रीबाट रु १ अर्ब १२ करोड ४७ लाख १५ हजार दुई सय आम्दानी भएको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइअन्तर्गत सुन्तला सुपरजोनका सूचना अधिकारी प्रतिभा बुढाथोकी क्षेत्रीका अनुसार स्याङ्जामा २० हजार ८४ दशमलव दुई मेट्रिक टन सुन्तला उत्पादन भएको थियो, जसको ९० प्रतिशत बिक्री भएको हो।

थोक मूल्यमा प्रतिकेजी रु ५६ का दरले सुन्तला बिक्री भएको र चालु आर्थिक वर्षमा सुन्तला बगैँचाको क्षेत्रफल दुई हजार दुई सय ८० हेक्टरमा विस्तार भएको उनले बताइन्। प्रतिहेक्टर १४.६६ टन उत्पादन भएको यो वर्षको उत्पादन गत वर्षभन्दा धेरै छ।

विसं २०७५/७६ मा स्याङ्जालाई सुन्तला सुपरजोन घोषणा गरिएपछि जिल्लामा सुन्तलाखेतीमा ठूलो विस्तार भएको छ। सुपरजोन घोषणा हुनुअघिको ८८७ हेक्टर क्षेत्रफल अहिले दुई हजार दुई सय ८० हेक्टरमा पुगेको छ।

स्याङ्जामा साउनदेखि फागुनसम्म विभिन्न प्रजातिका सुन्तला उत्पादन हुने गर्छ। अर्जुनचौपारी गाउँपालिकाको त्रिपुत्र बागवानी कृषि फार्मले मात्र यसवर्ष रु पाँच करोडका सुन्तला बिक्री गरेको छ।

फार्मले न्यूनतम रु २५ देखि अधिकतम रु ८५ सम्मका दरमा सुन्तला बिक्री गर्दै आएको छ। फार्मका सञ्चालक फणिनारायण अर्यालका अनुसार यसवर्ष सुन्तलाको मूल्य अघिल्लो वर्षभन्दा केही कम भए पनि किसानहरूको आम्दानी उल्लेख्य रहेको छ।

स्याङ्जाका पुतलीबजार, वालिङ, भिरकोट, गल्याङ नगरपालिकासहित आँधीखोला, फेदिखोला, बिरुवा, हरिनास, र अर्जुनचौपारी गाउँपालिका सुन्तलाका प्रमुख पकेट क्षेत्र हुन्।

सुन्तलाखेतीलाई मुख्य आम्दानीको स्रोतका रूपमा विकास गर्ने प्रयासले जिल्लाका किसानलाई व्यावसायिक कृषितर्फ आकर्षित गरेको छ। जिल्लाका अगुवा किसानले वार्षिक लाखौँको आम्दानी गर्दै आएका छन्, जसले स्याङ्जाको कृषि क्षेत्रलाई थप बलियो बनाउँदै लगेको छ।

साताकाे चर्चित
सम्बन्धित