गण्डकी ।
पदयात्राका लागि विश्वप्रसिद्ध गन्तव्य अन्नपूर्ण क्षेत्रमा सन् २०२४ मा दुई लाख ४४ हजार ४५ जना विदेशी पर्यटक भित्रिएका छन्। यसमा दक्षिण एसियाली मुलुकका एक लाख ३२ हजार ९४ र अन्य मुलुकका एक लाख ११ हजार नौ सय ५१ रहेका छन्। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का अनुसार, यो संख्या हालसम्मकै सबैभन्दा बढी हो।
यसअघि सबैभन्दा बढी सन् २०२३ मा एक लाख ९१ हजार पाँच सय ५८ पर्यटकले उक्त क्षेत्रको भ्रमण गरेका थिए। २०१९ मा एक लाख ८१ हजार पर्यटक भित्रिए पनि कोभिड–१९ महामारीले पर्यटक आगमनमा गिरावट ल्याएको थियो। २०२१ मा मात्र १६ हजार एक सय पाँच पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका थिए, जबकि २०२२ मा उक्त सङ्ख्या एक लाख २९ हजार सात सय ३३ पुगेको थियो।
अन्नपूर्ण क्षेत्रको पर्यटन हालको लयमा फर्किएको छ, ‘एक्याप’का प्रमुख डा रबिन कडरियाले बताए। उनका अनुसार, सन् २०२४ मा पर्यटक आगमनमा नयाँ रेकर्ड कायम भएको छ र गत वर्षको तुलनामा उल्लेख्य संख्यामा पर्यटक बढेका छन्।
अन्नपूर्ण चक्रीय पदमार्गमा अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ क्षेत्र, म्याग्दीको घोडेपानीजस्ता गन्तव्यस्थलमा लाखौँ आन्तरिक र बाह्य पर्यटक पुग्ने गर्छन्। अन्नपूर्ण संरक्षण क्षेत्र सात हजार छ सय वर्ग किलोमिटरमा फैलिएको छ र पदयात्राका लागि आकर्षक गन्तव्य मानिन्छ।
चार वर्षअघि, चर्चित अन्तर्राष्ट्रिय ट्राभल साइट लोन्ली प्लानेटले अन्नपूर्ण चक्रीय पदमार्गलाई विश्वका घुम्नै पर्ने दस गन्तव्य सूचीमा राखेको थियो। अमेरिकी समाचार संस्था ‘सिएनएन’ले सन् २०२३ मा मुस्ताङ उपत्यकालाई विश्वका घुम्नैपर्ने २३ गन्तव्यहरूको सूचीमा समावेश गरेको थियो।
प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन र सांस्कृतिक धरोहरका कारण अन्नपूर्ण क्षेत्र पर्यटकको प्राथमिक रोजाइमा पर्छ। कास्की, लमजुङ, मनाङ, म्याग्दी लगायतका क्षेत्रबाट अन्नपूर्ण क्षेत्रको छोटो, मध्यम र लामो दुरीको पदयात्रा तय गर्न सकिन्छ। अन्नपूर्ण चक्रीय पदमार्ग आकर्षक गन्तव्य, पर्यटनमैत्री पूर्वाधार र स्थानीयवासीको आतिथ्यता तथा सेवासुविधाका हिसाबले उत्कृष्ट मानिन्छ।