घरको कामलाई पनि मूल्याङ्कनमा समेट्ने शिक्षा मन्त्रालयको नयाँ निर्णय
घरको कामलाई पनि मूल्याङ्कनमा समेट्ने शिक्षा मन्त्रालयको नयाँ निर्णय
    • बेल संचार

    • १८ पुष २०८१, बिहीबार

काठमाडौं ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थीले घरमा गरेको कामको मूल्याङ्कन गर्दै नम्बर दिने निर्णय गरेको छ। शिक्षा मन्त्री विद्या भट्टराईले पाठ्यक्रम विकास केन्द्रलाई मूल्याङ्कनको विधि बनाउन जिम्मा दिइएको जानकारी दिइन्।

मूल्याङ्कनको नयाँ दृष्टिकोण
मन्त्रालयले विद्यार्थीको मूल्याङ्कन बहुपक्षीय ढंगले गर्नुपर्ने भन्दै घरमा गरेको कामलाई समेत समावेश गर्न लागेको हो। पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक इमनारायण श्रेष्ठले विधि तयार पारी आगामी शैक्षिक सत्र २०८२ देखि लागू गर्ने योजना रहेको बताए।

विद्यार्थीले पाउने नम्बरका आधारहरू
विद्यार्थीले घरमा गरेको विभिन्न कामजस्तै—

  • खेतबारीमा सघाउने,
  • घाँस काट्ने,
  • भात-तरकारी पकाउने,
  • भाइबहिनी हेर्ने,
  • बजारको किनमेल गर्ने,
  • लुगा सिलाउने वा आरनको काम गर्ने
    यस्ता कामलाई आन्तरिक मूल्याङ्कनमा समावेश गरी अंक प्रदान गरिनेछ।

आन्तरिक र बाह्य परीक्षा प्रणाली
कक्षा ४ देखि ८ सम्म ५० नम्बरको आन्तरिक र ५० नम्बरको बाह्य परीक्षा हुनेछ भने कक्षा ९ देखि १२ सम्म २५ नम्बर आन्तरिक र ७५ नम्बर बाह्य परीक्षाको संरचना लागू हुनेछ।

श्रम र सिपको सम्मानमा जोड
मन्त्री भट्टराईका अनुसार पाठ्यक्रमले अब श्रम र सिपको सम्मान गर्दै समाजका राम्रा पक्षलाई समेट्नेछ। विद्यार्थीको व्यवहार र पारिवारिक भूमिकालाई पनि मूल्याङ्कनको हिस्सा बनाइनेछ। “घरमा विद्यार्थीले कस्तो व्यवहार गर्छ, कति सघाउँछ भन्ने हेर्नुपर्छ,” उनले भनिन्।

यो नयाँ निर्णयले विद्यार्थीको सर्वाङ्गीण विकासमा टेवा पुर्‍याउने र व्यवहारिक शिक्षाको विकास गर्ने अपेक्षा गरिएको छ।

साताकाे चर्चित
सम्बन्धित