पहिलो नेपाली महिला राजदूत बिन्दा स्वारी शाहको निधन
पहिलो नेपाली महिला राजदूत बिन्दा स्वारी शाहको निधन
    • बेल संचार

    • १८ पुष २०८१, बिहीबार

काठमाडौं ।

पहिलो नेपाली महिला राजदूत बिन्दा स्वारी शाहको निधन भएको छ। उनको निधन १८ पुस, २०८१ (२ फागुन १९८९) मा आफ्नै निवास कालीमाटी, काठमाडौंमा भएको पारिवारिक स्रोतले जनाएको छ।

शाहको जन्म भारतको खर्साङमा भएको थियो, जहाँ उनका पिता पद्मसुन्दर मल्ल निर्वासनमा थिए। उनी अमेरिकाको कोलम्बिया विश्वविद्यालयको बर्नार्ड कलेजबाट स्नातक र जोन हप्किन्स विश्वविद्यालयबाट स्नातकोत्तर गरेकी थिइन्। सन् १९५९ मा लोकसेवा पास गरी परराष्ट्र सेवामा प्रवेश गरेकी शाहले १९६१ देखि १९६५ सम्म अमेरिकास्थित नेपाली दूतावासमा काम गरिन्। सन् १९७२ मा बंगलादेशको स्वतन्त्रतापछि नेपालले दूतावास खोलेपछि उनी त्यहाँको डेपुटी चिफ अफ मिसनका रूपमा कार्यरत थिइन्।

सन् १९८८ मा तत्कालीन राजा वीरेन्द्र वीरविक्रम शाहले उनलाई भारतका लागि नेपाली राजदूतमा नियुक्त गरे, जससँगै उनी राजदूतका रूपमा नियुक्ति पाउने पहिलो नेपाली महिला बनिन्। नेपालमा २०४६ सालको जनआन्दोलन हुँदा उनी नै भारतका लागि नेपाली राजदूत थिइन्।

उनका पति डा. नारायणकेशरी शाहको यसअघि नै निधन भइसकेको छ। जेठा छोरा अनिलकेशरी शाह नेपालका चर्चित बैंकर हुन्। कान्छा छोरा उज्ज्वलकेशरी शाहको पनि निधन भइसकेको छ।

साताकाे चर्चित
सम्बन्धित