वीरगञ्ज।
पर्सा जिल्लाको पर्सागढी नगरपालिका–४ की ५९ वर्षीया राधिका देवीले आर्थिक अभावका कारण एक दशकसम्म मोतियाविन्दुको शल्यक्रिया गर्न सकिरहेकी थिइनन्।
बिहान–साँझको छाक टार्न धौधौ पर्ने अवस्थाले सुविधासम्पन्न अस्पतालमा उपचार गराउने उनको सपना पूरा हुन सकेको थिएन।
‘पैसाको अभावले आँखाको शल्यक्रिया गर्न सकिरहेको थिइनँ,’ उनले भनिन्, ‘आफ्नै घर नजिकै पैसा नतिरिकनै शल्यक्रिया गर्न पाउँदा खुसीको सीमा छैन।’
शल्यक्रियापछि राधिकाले अब आफ्ना दैनन्दिन काम सहजै गर्नसक्ने बताइन्। ‘पहिले नाति–नातिनाको सहारामा हिँड्नुपथ्र्यो, तर अब म स्वतन्त्र भएर हिँड्न सक्छु,’ उनले खुसी व्यक्त गरिन्।
उक्त बृहत आँखा शिविरले पर्सागढी नगरपालिका–७ टिकुलियाका ६२ वर्षीया रामचन्दर साहलाई पनि लाभ पुर्याएको छ।
उनको मोतियाविन्दुको शल्यक्रियाका लागि उनका ज्वाइँ नारायण साह तेलीले उनलाई पुस १३ गते पर्सागढी नगरपालिका–४ बर्वाछटैलीस्थित नेपाल राष्ट्रिय आधारभूत माध्यामिक विद्यालयमा आयोजित शिविरमा लगेका थिए।
शिविरले स्थानीय समुदायलाई निःशुल्क सेवा प्रदान गर्दै धेरैको जीवनमा उज्यालो फर्काइदिएको छ।
आर्थिक अभावका कारण लामो समयदेखि उपचार गर्न नसकेका व्यक्तिहरूका लागि यो शिविर महत्वपूर्ण साबित भएको छ।