पछिल्लो एक सातामा सगरमाथा क्षेत्रमा दुई सय २८ विदेशी पर्यटक प्रवेश
पछिल्लो एक सातामा सगरमाथा क्षेत्रमा दुई सय २८ विदेशी पर्यटक प्रवेश
    • बेल संचार

    • १९ पुष २०८१, शुक्रबार

सोलुखुम्बु ।

पछिल्लो एक सातामा दुई सय २८ जना विदेशी पर्यटक सगरमाथा क्षेत्र प्रवेश गरेका छन्। पर्यटकको सङ्ख्या कम हुने यो मौसममा यति ठूलो सङ्ख्यामा पर्यटक भित्रिएको नेपाल नागरिक उड्डयन प्राधिकरणको लुक्ला कार्यालयले जनाएको छ।

कार्यालयका इन्चार्ज जिनिश राजभण्डारीका अनुसार पुस ११ देखि १८ गतेसम्म ९१ महिला र एक सय ३७ पुरूष गरी दुई सय २८ जना विदेशी पर्यटक लुक्लामा ओर्लिएका हुन्। पुस ११ गते २८, १२ गते ३१, १३ गते ३०, १४ गते ६६, १५ गते ३६, १६ गते १९, १७ गते चार र १८ गते १४ जना विदेशी पर्यटक भित्रिएको तथ्याङ्क छ।

पर्यटन व्यवसायी तोयाकुमार श्रेष्ठका अनुसार अफसिजनमा विगतमा पर्यटकको आगमन शून्यजस्तै हुने गरे पनि यस वर्षको आगमन उत्साहजनक देखिएको छ। चिसो समयको पर्वाह नगरी भ्रमण गर्ने विदेशी पर्यटकको सङ्ख्या बढेसँगै होटल व्यवसायी पनि खुसी भएका छन्।

होटल व्यवसायी जाङ्मु शेर्पाले भने, “अफसिजनमा भित्रिएका पर्यटकले हामीलाई निकै खुसी दिएको छ। पहिलाका वर्षहरूमा पुस–माघमा होटल व्यवसायमा खासै चहलपहल हुँदैनथ्यो, तर यो वर्ष राम्रो सङ्ख्यामा विदेशी आएका छन्। यसले हाम्रो व्यवसायमा सकारात्मक प्रभाव पारेको छ।”

खुम्बु क्षेत्रमा यो समय अत्यधिक चिसोका कारण दैनिकी कठिन भइरहेको छ। एक साताअघि परेको हिमपातपछि तापक्रम झन् घटेको छ। अहिले खुम्बुमा तापक्रम माइनस १५ डिग्री सेल्सियसभन्दा तल झरेको छ। चिसोले गर्दा पाइपमा पानी जम्दा पिउने पानी आपूर्ति गर्न समस्या भएको पर्यटन व्यवसायी लामाकाजी शेर्पाले बताए।

चिसो छल्न धेरै व्यवसायी काठमाडौँ र अन्य ठाउँतिर गएका छन्। हिमपातले खुम्बुमा अझै चिसो बढाएको छ, जसले स्थानीय र व्यवसायी दुवैलाई प्रभावित पारेको छ।

साताकाे चर्चित
सम्बन्धित