टीकापुर ।
टीकापुर नगरपालिका–४ मा १८ विपन्न तथा जेहेन्दार छात्राले वडाको सहयोगमा साइकल पाएपछि खुसी भएका छन्। वडाले सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ९ देखि १२ सम्मका छात्राहरुलाई शैक्षिक पहुँच सहज बनाउन र समय बचतका लागि साइकल वितरण गरेको हो।
त्रिभुवन माध्यमिक विद्यालय, वसन्तामा कक्षा ९ मा अध्ययनरत सपना विकले साइकल पाएपछि आफ्नो रहर पूरा भएको बताइन्। उनले भनिन्, “अरु साथीहरु साइकल चढेर विद्यालय जान्थे, मेरो पनि त्यस्तै रहर थियो। अब म पनि साथीहरुसँग साइकलमा विद्यालय जान सक्छु।”
सपना विककी आमा सेतु विकले साइकल किन्न नसक्ने आर्थिक अवस्थाका कारण छोरीको पढाइमा समस्या भइरहेको बताइन्। वडाको सहयोगले यो समस्या समाधान भएपछि आमाछोरी दुवै खुसी भएका छन्।
सरस्वती मावि वनगाउँकी छात्रा आयुषा चौधरीले पनि साइकल पाएपछि विद्यालय पुग्न समय बचत हुने र आमालाई घरको काममा सघाउन सक्ने बताइन्। उनले भनिन्, “अब साइकलमा २० मिनेटमै विद्यालय पुग्छु। यसले समय पनि बचत हुन्छ र म घरमा पनि सघाउन सक्छु।”
कक्षा ११ मा अध्ययनरत सन्ध्या चौधरीलाई बिहान क्याम्पस जान समस्या हुने गरेको थियो। उनले साइकल पाएपछि कलेज जान सहज भएको बताइन्।
वडाध्यक्ष लालविर चौधरीले महिला शिक्षित भए समाज निर्माणमा सकारात्मक प्रभाव पर्ने भएकाले छोरीहरुलाई अघि बढाउन साइकल वितरण गरिएको बताए। उनले भने, “गरिबी र समस्याका बाबजुद यी छात्राहरु पढाइमा अब्बल छन्। यिनीहरुको शैक्षिक विकासमा सहयोग पुर्याउन हामीले साइकल वितरण गरेका हौँ।”
वडाले रु एक लाख ६० हजारको बजेटमा १८ वटा साइकल वितरण गरेको हो। यसका लागि ६० बालिकाको निवेदन परेको थियो, जसमा विपन्न र जेहेन्दार छात्रालाई प्राथमिकता दिइएको थियो। कार्यपालिका सदस्य रुपमति डगौराले साइकलले छात्राहरुको विद्यालयमा पहुँच वृद्धि गर्न सहयोग पुर्याउने विश्वास व्यक्त गरिन्।
नगरपालिकाले विपन्न र लगनशील विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको र आगामी दिनमा पनि यस्ता सहयोग जारी रहने बताइएको छ।