गण्डकी प्रदेशमा कोइकाको सहयोगमा प्राविधिक शिक्षालय निर्माण
गण्डकी प्रदेशमा कोइकाको सहयोगमा प्राविधिक शिक्षालय निर्माण
    • बेल संचार

    • १९ पुष २०८१, शुक्रबार

पोखरा ।

गण्डकी प्रदेश सरकारले कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका)को आर्थिक सहयोगमा गण्डकी इन्स्टिच्युट अफ टेक्नोलोजीको पूर्वाधार निर्माणको प्रक्रिया सुरु गरेको छ। यससम्बन्धी सहयोग सम्झौतामा शुक्रबार गण्डकी प्रदेश सरकार र कोइकाबीच हस्ताक्षर भएको हो।

सम्झौतामा गण्डकी प्रदेशका सामाजिक विकास मन्त्रालयका सचिव राजेन्द्रदेव पाण्डे र कोइकाका कन्ट्री डाइरेक्टर मुहेओन कङले हस्ताक्षर गरे। कोइकाले परियोजनामा ९० लाख अमेरिकी डलर सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। परियोजना ५ वर्षसम्म सञ्चालन हुनेछ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले परियोजनाले प्राविधिक शिक्षाको माध्यमबाट दक्ष जनशक्ति उत्पादन गरी निर्माण उद्योगको माग पूरा गर्न र रोजगारीका अवसर सिर्जना गर्न मद्दत गर्ने विश्वास व्यक्त गरे। उनले नेपाल र दक्षिण कोरियाबीचको द्विपक्षीय सहकार्यको प्रशंसा गर्दै परियोजनाका लागि प्रदेश सरकारको पूर्ण सहयोग रहने प्रतिवद्धता व्यक्त गरे।

सामाजिक विकास मन्त्री विन्दुकुमार थापाले परियोजनाको मुख्य उद्देश्य दक्ष जनशक्ति उत्पादन गरी नेपालको आर्थिक वृद्धिमा योगदान पुर्‍याउनु रहेको बताए। परियोजनाले युवा, महिला, र विपन्न वर्गका लागि गुणस्तरीय प्राविधिक शिक्षामा पहुँच पुर्‍याउने लक्ष्य राखेको छ।

कोइकाले संस्थान भवन निर्माणका साथै अल्पकालीन तालिम, करियर सेवा प्याकेज, उद्योगसँग साझेदारी, र संस्थानको गुरुयोजना विकासमा समेत सहयोग गर्नेछ। यसमार्फत प्राविधिक मार्गदर्शन र शिक्षाको गुणस्तर वृद्धि गर्ने लक्ष्य राखिएको छ।

कोइकाका कन्ट्री डाइरेक्टर मुहेओन कङले परियोजनाले गुणस्तरीय प्राविधिक शिक्षाको पहुँच विस्तार गरी युवा तथा अन्य वर्गको जीवनस्तर सुधार्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

यो परियोजना गण्डकी प्रदेशमा प्राविधिक शिक्षाको प्रवर्द्धनमा मीलको पत्थर सावित हुने अपेक्षा गरिएको छ।

साताकाे चर्चित
सम्बन्धित