रामप्रसादराई गाउँपालिकामा गुप्तेश्वर महादेव मन्दिर निर्माण सम्पन्न
रामप्रसादराई गाउँपालिकामा गुप्तेश्वर महादेव मन्दिर निर्माण सम्पन्न
    • बेल संचार

    • १९ पुष २०८१, शुक्रबार

भोजपुर ।

रामप्रसादराई गाउँपालिका–३, भुल्केमा रहेको गुप्तेश्वर महादेव मन्दिरको निर्माण कार्य स्थानीय सरकारको सक्रियतामा सम्पन्न भएको छ। मन्दिर निर्माण र परिसर विकासमा केन्द्र सरकारले रु ३० लाख र गाउँपालिकाले रु ४० लाखको लगानी गरेको छ, जसअनुसार कुल रु ७० लाखको लागतमा भौतिक संरचना निर्माण गरिएको हो।

वडाध्यक्ष रामु थापाका अनुसार वडाले धार्मिक तथा पर्यटकीय क्षेत्रको विकाससँगै जलाधार क्षेत्रको संरक्षणलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ। उनले जलवायु अनुकूलन कार्यक्रमअन्तर्गत तीनधारे र भुल्के मुहानको संरक्षण गरिएको जानकारी दिए। साथै, सुक्खा क्षेत्रका प्राकृतिक मुहानहरूको संरक्षणका लागि ‘रिचार्ज पोखरी’ निर्माण गरिएको पनि बताए।

गुप्तेश्वर महादेव मन्दिरमा राम नवमी र बालाचर्तुदशीका अवसरमा मेला लाग्ने गर्दछ। भोजपुर र खोटाङका साथै देशका विभिन्न स्थानबाट भक्तजन पूजाआजा गर्न मन्दिरमा आउने गर्छन्।

गाउँपालिकाको यो पहलले धार्मिक, पर्यटकीय, र पर्यावरणीय महत्त्वका क्षेत्रहरूको संरक्षण र प्रवर्द्धनमा योगदान पुर्‍याएको छ। मन्दिरले स्थानीय बासिन्दाका लागि धार्मिक आस्था मात्र नभई पर्यटकीय विकासको अवसर पनि सिर्जना गर्ने अपेक्षा गरिएको छ।

साताकाे चर्चित
सम्बन्धित