काठमाडौँ ।
पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन र सामाजिक न्यायका लागि सरकार तथा राजनीतिक दलप्रति जनताले गम्भीर प्रश्न उठाइरहेको बताएका छन्। शुक्रबार नेपाल पत्रकार महासंघ काठमाडौँ शाखाले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै उनले सरकार र राजनीतिक दलहरूको निष्ठा र इमानदारितामा जनताको असन्तुष्टि रहेको स्पष्ट पारे।
उनले भने, “आदर्शका कुरा धेरै गरिन्छ तर व्यवहारमा के गरिरहेका छौँ भन्ने विषय महत्त्वपूर्ण हुन्छ। निष्ठा र इमानदारिताका साथ भ्रष्टाचारविरुद्ध लडिरहेका छौँ त? सुशासनको पक्षमा छौँ त? नेपाली जनताले राजनीतिक दल र सरकारबाट यस्ता अपेक्षाहरू गरेका छन्, तर यी प्रश्नहरू गम्भीर छन्।”
आफ्नो तेस्रो कार्यकालको प्रधानमन्त्रीत्वकालमा सुशासन, भ्रष्टाचार न्यूनीकरण, सामाजिक विभेद अन्त्य, र आर्थिक समस्याबाट देशलाई राहत दिने काममा इमानदार प्रयास गरेको दाबी पनि उनले गरे।
कार्यक्रममा प्रचण्डले पत्रकारिता क्षेत्रमा सूचना प्रवाहसँग सम्बन्धित चुनौतीको चर्चा गर्दै इनफर्मेसन, डिसइनफर्मेसन, र मिसइनफर्मेसनको प्रभावलाई ठूलो चुनौतीका रूपमा औंल्याए। उनले यस्ता चुनौतीहरूसँग जुध्न मिडियाको भूमिकालाई थप जिम्मेवार र प्रभावकारी बनाउनुपर्ने आवश्यकता रहेको बताए।