जनमत पार्टीको आरोप : कांग्रेस-एमालेको संगठित घेराबन्दीले मधेश सरकार असफल बनाउँदै
जनमत पार्टीको आरोप : कांग्रेस-एमालेको संगठित घेराबन्दीले मधेश सरकार असफल बनाउँदै
    • बेल संचार

    • २० पुष २०८१, शनिबार

जनकपुरधाम ।

मधेश प्रदेशको नेतृत्व गरिरहेको जनमत पार्टीले सत्ता गठबन्धनका ठूला दलहरू नेपाली कांग्रेस र एमालेले प्रदेश सरकारलाई असफल बनाउन संगठित रूपमा घेराबन्दी गरेको आरोप लगाएको छ।

पार्टीले सार्वजनिक आठ बुँदे धारणा मार्फत मुख्यमन्त्री सतिशकुमार सिंहलाई गठबन्धनका मन्त्रीहरूले घेराबन्दी गरेको गुनासो गरेको छ।

जनमतले कांग्रेस र एमालेका मन्त्रीहरू अनियमिततामा संलग्न रहेको गम्भीर आरोप लगाउँदै मुख्यमन्त्रीले तिनलाई हटाउन अनुमति नपाएको बाध्यता रहेको उल्लेख गरेको छ।

पाँच महिनादेखि पुँजीगत बजेट खर्च रोक्ने, योजनाहरू अघि बढ्न नदिने, र सरकार चाँडै ढल्ने हल्ला फैलाउने जस्ता गतिविधि गर्दै सरकारलाई असफल देखाउने काम भइरहेको जनमतको दाबी छ।

जनमत पार्टीले कांग्रेसका सुनिलकुमार यादव नेतृत्वको अर्थ मन्त्रालयले पीएलएमबीआइएस प्रणाली लक गरी पुँजीगत खर्च रोकिएको आरोप लगाएको छ। मुख्यमन्त्रीले असार २ गते बजेट खर्चको अख्तियारी दिए पनि आलटाल गरी काम अघि नबढाइएको जनमतले जनाएको छ।

संघीय सरकारले मधेश प्रदेशको मुख्य सचिव फेरिदिन पटकपटक आग्रह गर्दा बेवास्ता गरेको र मुख्य सचिवले काम नगरी सरकार असफल देखाउन षड्यन्त्र गरेको जनमतको आरोप छ।

रोजगारमूलक तथा लोकप्रिय योजनाहरू कांग्रेस र एमालेको डरका कारण अवरुद्ध गरिएको भन्दै जनमतले ठूला दलहरूमाथि चर्को आलोचना गरेको छ।

साताकाे चर्चित
सम्बन्धित