चिसो बढेपछि ढोरपाटन उपत्यका सुनसान
चिसो बढेपछि ढोरपाटन उपत्यका सुनसान
    • बेल संचार

    • २० पुष २०८१, शनिबार

बागलुङ ।

मङ्सिर अन्तिम सातासम्म पर्यटकको चहलपहल रहेको ढोरपाटन उपत्यका पुस पहिलो सातादेखि नै सुनसान बन्न थालेको छ। आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा परेको ढोरपाटनमा हरेक वर्ष पर्यटकको सङ्ख्या बढ्दै गएको देखिन्छ।

सञ्चारमाध्यम र सामाजिक सञ्जालमा यहाँको मनमोहक दृश्यको प्रचार भएपछि पर्यटकको आकर्षण बढेको हो। जाडो यामका कारण स्थानीय बासिन्दासमेत बोबाङ, अधिकारीचौर र निसीखोला झर्ने हुँदा ढोरपाटन सुनसान देखिन्छ। पर्यटकको आगमन कम हुँदा यहाँका होटल व्यवसायी फुर्सदिला बनेका छन्।

ढोरपाटनमा हिउँ परेपछि पर्यटकको चहलपहल बढ्ने भए पनि अहिले सुनसान भएको ढोरपाटन होटल व्यवसायी सङ्घका अध्यक्ष जीवन अदैले बताए। घुम्ती बसाई हुने हुँदा चिसो बढेपछि धेरै स्थानीय बेँसी झर्ने गरेको उनको भनाइ छ। उनले अघिल्ला वर्षहरूको तुलनामा यस वर्ष पर्यटकको सङ्ख्या बढेको भए पनि पुसदेखि फागुनसम्म पर्यटकको आगमन निकै कम हुने गरेको बताए।

अध्यक्ष अदैले भने, “यो समयमा ढोरपाटनमा सामान्यतया चहलपहल कम हुन्छ। चिसोका कारण पर्यटकको सङ्ख्या निकै घटेको छ। मङ्सिरमा दैनिक एक सय पचास जना पर्यटक घुम्न आउने गर्थे भने अहिले त्यो घटेर जम्मा ३०/४० जना मात्रै आएका छन्। प्रचारप्रसार राम्रो भएकाले पहिलाको तुलनामा अहिले पर्यटक बढ्दै गएका छन्।”

करिब पाँच वर्षअघिसम्म ढोरपाटनमा कम मात्रामा होटल व्यवसाय सञ्चालन हुन्थ्यो। तर, अहिले उपत्यकामा मात्रै करिब ४० वटा होटल सञ्चालनमा छन्। चिसो बढेपछि पाहुनाको आगमन कम हुँदा आफू पनि केही दिनका लागि बेँसी झरेको होटल व्यवसायी श्यामलाल घिमिरेले बताए। पछिल्लो समय ढोरपाटनमा बास बस्ने र खाना खाने सुविधा राम्रो भएपछि पर्यटकको आकर्षण बढे पनि यो सिजनमा आगमन कम भएको उनको भनाइ छ।

हाल शुक्रवार र शनिबार केही पर्यटक ढोरपाटन पुग्ने गरे पनि अन्य दिनमा सुनसानजस्तै हुने गरेको छ। बागलुङको ठूलो व्यापारिक केन्द्र बुर्तिवाङबाट करिब ३२ किलोमिटर टाढा रहेको ढोरपाटनसम्म कच्ची सडक पुगेको छ। राष्ट्रिय प्राथमिकताको आयोजना सालझण्डी–ढोरपाटन सडकले ढोरपाटनलाई थप चर्चा दिलाएको छ। तर, उक्त सडक स्तरोन्नति नहुँदा पर्यटकले सास्ती खेप्नुपरेको छ।

साताकाे चर्चित
सम्बन्धित