पाँच वर्षदेखि ठप्प अस्पताल भवन निर्माण कार्य
पाँच वर्षदेखि ठप्प अस्पताल भवन निर्माण कार्य
    • बेल संचार

    • २० पुष २०८१, शनिबार

दार्चुला ।

शिल्यान्यास भएको पाँच वर्ष बितिसक्दा पनि दार्चुलाका तीन स्थानमा निर्माण गर्ने भनिएका अस्पताल भवनको काम ठप्पप्रायः अवस्थामा रहेको छ। विसं २०७७ मङ्सिर १५ गते सरकारले दार्चुलाका विभिन्न सात स्थानमा आधारभूत स्वास्थ्य अस्पताल निर्माणको शिल्यान्यास गरेको भए पनि भवन निर्माण कार्य समयमै सम्पन्न हुन सकेको छैन।

अस्पताल भवन निर्माण नहुँदा लेकम, दुहुँ, र अपि हिमाल गाउँपालिकाका स्थानीयवासीले बिरामी हुँदा छिमेकी पालिकाका अस्पताल, जिल्ला अस्पताल, भारतीय अस्पताल तथा धनगढी र काठमाडौँसम्म पुग्नुपर्ने बाध्यता रहेको छ।

लेकम गाउँपालिकाका स्थानीय ललितसिंह खत्रीका अनुसार, साधारण स्वास्थ्य सेवा पाउनसमेत बाहिर जानुपर्ने अवस्था रहेको छ। आर्थिक वर्ष २०७७/७८ मा जगदम्बायमुना जेभीले ठेक्का पाएको १० शय्याको अस्पताल भवन निर्माण कार्य अहिले बल्ल सुरु भएको छ। करिब सात करोड लागतमा ठेक्का सम्झौता गरिएको यो परियोजनाको म्याद दुई पटक थप गरेपछि मात्रै निर्माण अघि बढेको जानकारी लेखा अधिकृत विष्टले दिए।

दुहुँ गाउँपालिकामा पनि १० शय्याको अस्पताल निर्माण कार्य सुरु गरिएको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरसिंह धामीका अनुसार, आर्थिक वर्ष २०७७/७८ मा मायमुना र कौशिल जगदम्बा जेभीले आठ करोड २९ लाख रुपैयाँमा ठेक्का लिएको भए पनि काममा ढिलाइ भएको छ।

यसैगरी, व्यास गाउँपालिकामा २४ करोड ७६ लाख ८५ हजार लागतमा १५ शय्याको अस्पताल भवन निर्माण सुरु भएको छ। पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिंह कुँवरका अनुसार, काम अगाडि बढे पनि समयमै सम्पन्न हुने सम्भावना कम देखिन्छ।

यद्यपि, अपि हिमाल गाउँपालिकामा निर्माण भइरहेको १० शय्याको अस्पताल भवन भने अन्तिम चरणमा पुगेको छ। यो अस्पताल निर्माणका लागि १० करोड ३३ लाखमा ठेक्का सम्झौता गरिएको थियो।

साताकाे चर्चित
सम्बन्धित