स्याङ्जा ।
स्याङ्जाको आँधीखोलामा नदी कटान नियन्त्रणका लागि तटबन्ध निर्माणको काम प्रारम्भ भएको छ। गण्डकी प्रदेश ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको अनुदानमा सञ्चालित योजनामार्फत चार किलोमिटर क्षेत्रमा तटबन्ध निर्माण थालिएको हो।
जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयका प्रमुख किरण आचार्यका अनुसार आँधीखोला गाउँपालिका, पुतलीबजार, भिरकोट, र वालिङ नगरपालिका भएर बग्ने आँधीखोलाका धेरै कटान भएका स्थानमा तटबन्ध निर्माण गरिएको छ।
तटबन्ध निर्माण सिँचाइ डिभिजन कार्यालय र स्थानीय पालिकाबीचको सहकार्य तथा लागत साझेदारीमा गरिएको हो। करिब आठ करोड रुपैयाँको लागतमा थालिएको यो निर्माण कार्य २०८३ साल वैशाखसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ।