हिउँदे विदाबाट प्रभाव नपरेको कालिका आधारभूत विद्यालय, देवारगाउँ
हिउँदे विदाबाट प्रभाव नपरेको कालिका आधारभूत विद्यालय, देवारगाउँ
    • उमेश बुढा

    • २० पुष २०८१, शनिबार

जुम्ला

जुम्ला जिल्ला, हिमा गाउँपालिका वडा नं. १, देवारगाउँस्थित कालिका आधारभूत विद्यालयमा हिउँदको समयमा पनि पठनपाठन सुचारु रहेको छ। सरकारको नीति अनुसार जाडो विदा दिइए पनि यो विद्यालय सञ्चालनमा रहेको छ।

जुम्लाका अधिकांश विद्यालयहरू हिउँदे विदाका कारण बन्द छन्, तर अभिभावक र वडा सरकारको सक्रियतामा कालिका विद्यालय भने सञ्चालन भइरहेको छ।

कक्षा ५ मा अध्ययनरत छात्रा भूमिका शाहीका अनुसार, “हामी बिहान १० बजे विद्यालय आउँछौं र दिउँसो ३ बजे घर फर्कन्छौं। हामीलाई हिउँदे विदाको कुनै प्रभाव परेको छैन।” अर्का छात्र युवराज सार्की भन्छन्, “हाम्रो विद्यालयमा बिहानै घाम लाग्ने भएकाले पढ्न सहज हुन्छ। वर्खामा पढेका कुरा बिर्सने डर छैन, र ट्युसनको आवश्यकता पनि परेको छैन।”

अभिभावक दन्तबहादुर शाहीले वडा सरकारसँग विद्यालय सञ्चालनका लागि आग्रह गरेको बताए। उनले भने, “विद्यार्थीले पढाइ नबिर्सून् भन्ने उद्देश्यले हामीले हिउँदमा पनि विद्यालय सञ्चालन गर्न माग गरेका थियौं।”

विद्यालयका शिक्षिका अनिमा पौडेलका अनुसार, साना बालबालिकालाई चिसोका कारण विद्यालय नपठाइए पनि अन्य विद्यार्थीहरू विद्यालय नियमित आउने गरेका छन्। “हामी राम्रो घाम लाग्दा कोठाबाहिर र चिसो हुँदा कोठाभित्र पठनपाठन गराउँछौं,” पौडेलले भनिन्।

वडा नं. १ का अध्यक्ष रतन शाहीले विद्यालय सञ्चालनका लागि शिक्षकहरूको मेहनत र अभिभावकहरूको सक्रियतामा धन्यवाद व्यक्त गरे। “विद्यार्थीले लामो विदा हुँदा पढेका कुरा बिर्सने समस्या नहोस् भनेर विद्यालय सञ्चालन गरिएको हो,” उनले भने।

हिमा गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख दन्तबहादुर रावतका अनुसार, गाउँपालिकाका २२ सामुदायिक विद्यालयमध्ये कालिका आधारभूत विद्यालय मात्रै हिउँदमा सञ्चालन भइरहेको छ।

वडा अध्यक्ष शाहीले शिक्षिकाहरूको मेहनतको उच्च मूल्यांकन गर्दै भने, “शिक्षिकाको पारिश्रमिक दिने जिम्मेवारी सरकार र गैरसरकारी निकायको सहयोगले पूरा गर्ने प्रयास हुनेछ। यदि बजेट अभाव भएमा व्यक्तिगत सेवा सुविधाबाट कटौती गरेर पनि तलब उपलब्ध गराउनेछौं।”

जुम्लाका अन्य विद्यालयहरू हिउँदे विदामा रहेको समयमा कालिका आधारभूत विद्यालयमा भने अभिभावक, वडा सरकार, र शिक्षिकाको समन्वयमा पठनपाठन जारी छ। यसले विद्यार्थीहरूको पढाइमा सकारात्मक प्रभाव पारेको छ।

साताकाे चर्चित
सम्बन्धित