नुवाकोटको बिदुर नगरपालिकामा बाँझोपन समस्याका लागि निःशुल्क पशु उपचार शिविर सञ्चालन
नुवाकोटको बिदुर नगरपालिकामा बाँझोपन समस्याका लागि निःशुल्क पशु उपचार शिविर सञ्चालन
    • बेल संचार

    • २१ पुष २०८१, आईतवार

नुवाकोट ।

नुवाकोटको बिदुर नगरपालिकाले बाँझोपन समस्याबाट प्रभावित पशुको पहिचान गरी उपचार गर्न निःशुल्क शिविर सञ्चालन गरेको छ। चितवनस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयको सहयोगमा नगरपालिकाको पशु सेवा शाखाले ‘गाईभैँसीमा हुने बाँझोपन पहिचान र उपचार’ शिविर सञ्चालनमा ल्याएको हो।

नगरप्रमुख राजन श्रेष्ठले भिडियो एक्सरे प्रविधिको प्रयोगमार्फत चिकित्सकले समस्याको पहिचान गरी औषधिसहितको परामर्श सेवा उपलब्ध गराउने जानकारी दिए। गाईभैँसीमा बाँझोपनको समस्या समाधान गर्न परीक्षण सुरु भएको उनले बताए।

नगरप्रमुख श्रेष्ठका अनुसार हालसम्म आठ वडाका १८ किसानले पालेका २१ गाई र तीन भैँसीमा बाँझोपनको समस्या पहिचान भएको छ। उनले भने, “किसानले पालेका गाईभैँसीमा बाँझोपनको समस्या देखिएपछि पालिकाबाट निःशुल्क शिविरमार्फत समस्याको समाधान गर्न प्रयास भइरहेको छ।”

शिविरमार्फत किसानलाई पशुचौपायको नियमित जाँच तथा परीक्षण गर्न र आवश्यकताअनुसार खाद्यतत्व उपलब्ध गराउन सजग गराइएको छ। कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपप्राध्यापक डा. शत्रुधन शाहका अनुसार पशुमा खाद्यतत्वको सन्तुलन नहुँदा बाँझोपनको समस्या देखिएको छ।

डा. सुजता अधिकारीले पशु चिकित्सक र प्राविधिकको टोलीद्वारा गाईभैँसीको पाठेघर र डिम्बको अवस्था परीक्षण गरी समस्या पहिचान गरिएको जानकारी दिए। पशुलाई बाँझोपन हुनबाट जोगाउन जुका र नाम्लेको औषधि, खनिज, प्रोटिनलगायत पौष्टिक तत्व पाइने घाँसपातसहितको खुराक खुवाउन किसानलाई सुझाव दिइएको छ।

साताकाे चर्चित
सम्बन्धित