म्याग्दी ।
म्याग्दीको बेनी नगरपालिका–१ अन्तर्गत पर्ने रत्नेचौर गाउँ, जो केही वर्षअघिसम्म रातो माटो र कृषि उत्पादनमा निर्भर थियो, अहिले जिल्लाकै प्रसिद्ध पर्यटकीय गाउँका रूपमा परिचित हुन थालेको छ।
कात्तिकदेखि माघसम्म यहाँ आन्तरिक तथा बाह्य पर्यटकको भीड लाग्ने गर्दछ। कात्तिक-मंसिरमा रत्नेचौरको फाँटमा झुलेका धानसँगै धवलागिरि हिमाल, म्याग्दी, बागलुङ, र पर्वतका ग्रामीण भेगको दृश्यावलोकन गर्ने पर्यटकहरू पुस–माघमा पहेँलपुर तोरीको आकर्षक दृश्य हेर्न र वनभोज खान आउँछन्।
बेनी र बागलुङको बीचमा रहेको रत्नेचौर गाउँमा तोरीबारीमा रमाउँदै टिकटक र भिडियो बनाउन मानिसहरूको भीड छ। पुसदेखि अहिलेसम्म यहाँ १२ हजारभन्दा बढी पर्यटक आएका छन्, स्थानीय अगुवा भरत केसीले जानकारी दिए।
रत्नेचौरबाट धवलागिरि हिमालको मनोरम दृश्य, हरियाली फाँट, र पहेँलपुर तोरीले यहाँको प्राकृतिक सौन्दर्यलाई थप निखार दिएको छ। स्थानीयवासी नेत्रबहादुर महतका अनुसार तोरीबारी र हिमालको पृष्ठभूमिमा फोटो र भिडियो खिच्न दैनिक सयौँ पर्यटक आउने गरेका छन्।
रत्नेचौर–अर्जम–ज्यामरुककोट सडकखण्डको कालोपत्र सडक र आसपासको तोरीबारीमा रमाउन आउने पर्यटकहरूलाई व्यवस्थापन गर्न स्थानीयलाई हम्मेहम्मे पर्छ। यस्तै, रत्नेचौर र बागलुङको कुडुले जोड्ने ३८८ मिटर लामो झोलुङ्गे पुल पनि पर्यटकहरूको अर्को आकर्षण बनेको छ।
स्थानीय व्यापारमा पर्यटनको वृद्धि भएको छ, र यहाँका बासिन्दाहरूले रत्नेचौरलाई कृषि पर्यटकीय गाउँका रूपमा विकास गर्न लागिपरेका छन्। तोरी उत्पादनको प्रवर्द्धनले यहाँका किसानलाई पनि लाभ पुग्ने विश्वास गरिएको छ।