काठमाडौं ।
अस्ट्रेलियन क्रिकेट टोलीले भारतसँगको पाँचौं टेस्ट खेल जित्दै विश्व टेस्ट च्याम्पियनसीपको फाइनलमा लगातार दोस्रोपटक स्थान बनाएको छ। श्रृंखला ३-१ ले जितेर अस्ट्रेलिया फाइनलमा पुगेको हो।
भारतले चौथो इनिङमा दिएको १६२ रनको लक्ष्य अस्ट्रेलियाले चौथो दिनको सेसनमा ४ विकेटको क्षतिमा पूरा गर्यो। अस्ट्रेलियाका ट्राभिस हेडले अविजित ३४ र बेउ वेबस्टरले अविजित ३९ रन बनाए। उसमान ख्वाजाले ४१ रन बनाएका थिए। भारतका प्रसिध कृष्णाले तीन र मोहम्मद सिराजले एक विकेट लिए।
भारतले दोस्रो इनिङमा ४ रनको अग्रता लिएर खेल थालेको थियो। थप १५७ रन जोड्दै भारत अलआउट भयो। भारतका रिषभ पन्तले सर्वाधिक ६१ रन बनाए भने यशस्वी जैसवालले २२ रन बनाए। अस्ट्रेलियाका स्कट बोल्यान्डले ६ विकेट लिए। उनले आफ्नो टेस्ट करियरमा पहिलोपटक १० विकेट लिने कीर्तिमान पनि बनाए।
भारतले पहिलो दिन १८५ रनमा अलआउट भएको थियो। जवाफमा अस्ट्रेलिया १८१ रनमा अलआउट हुँदा भारत ४ रनको अग्रता लिएर दोस्रो इनिङमा १५७ रनमा सीमित भयो, जसका कारण अस्ट्रेलियाले १६२ रनको लक्ष्य पायो।
पहिलो टेस्ट भारतले जितेको थियो भने दोस्रो र चौथो टेस्ट अस्ट्रेलियाले जित्यो। तेस्रो टेस्ट ड्र भएको थियो।
टेस्ट च्याम्पियनसीपको फाइनलमा दक्षिण अफ्रिका यसअघि नै छनोट भइसकेको छ। यो दक्षिण अफ्रिकाको पहिलो टेस्ट च्याम्पियनसीप फाइनल हुनेछ।
वर्ल्ड टेस्ट च्याम्पियनसीप २०२३-२५ को फाइनल इंग्ल्यान्डको लर्ड्समा आगामी जुन महिनामा हुनेछ। सन् २०१९ देखि सुरु भएको टेस्ट च्याम्पियनसीपका दुई संस्करणमध्ये न्युजिल्याण्ड र अस्ट्रेलियाले एक-एकपटक उपाधि जितेका छन्।