काठमाडौँ :
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संविधान परिमार्जनका लागि सुझाव संकलन गर्न प्रमुख सचेतक सन्तोष परियारको संयोजकत्वमा ‘संविधान परिमार्जन सुझाव कार्यदल’ गठन गरेको छ । शनिबारदेखि जारी केन्द्रीय समिति बैठकले संविधानमा आवश्यक संशोधनको सन्दर्भलाई ध्यानमा राख्दै यो कार्यदल गठन गर्ने निर्णय गरेको हो।
कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार, कार्यदलले सातै प्रदेशमा आवश्यक छलफल गर्नेछ। साथै, सम्बन्धित साझेदारहरू, संविधानविद्, र जनप्रतिनिधिहरूसँग समेत परामर्श गरी पार्टीको तर्फबाट सार्वजनिक धारणा तयार गर्नेछ। कार्यदलले संविधान संशोधनका लागि आवश्यक सुझाव संकलन गरी पार्टी नेतृत्वलाई प्रस्तुत गर्ने योजना बनाएको छ।
कार्यदलका सदस्यहरूमा कान्तिशिखा धिताल, डा. नन्दन यादव, गणेश कार्की, सोविता गौतम, असिम साह, डा. तोसिमा कार्की, डा. अच्युतम लामिछाने, र मेघ आले रहेका छन्।
कार्यदलले सातै प्रदेशमा छलफल गर्ने र सो छलफलको संयोजन सम्बन्धित प्रदेशका पार्टी सभापतिले गर्ने रास्वपाले जनाएको छ। पार्टीको यो निर्णयलाई संविधान परिमार्जनको प्रक्रियालाई सबलीकरण गर्न र जनताको भावना अनुसार संविधानलाई परिमार्जन गर्नका लागि महत्वपूर्ण कदमको रूपमा हेरिएको छ।