काठमाडौं ।
नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक आइतबारदेखि काठमाडौंमा सुरु भएको छ। बैठकमा पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनको उपस्थिति विशेष चासोको विषय बनेको छ। पुन यसअघि पनि पार्टीका बैठकहरूमा सहभागी हुँदै आएका छन्।
बैठकमा पुन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’कै लहरमा बसेका छन्। वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, र महासचिवहरू अघिल्लो लहरमा रहेका छन् भने उपमहासचिवहरू पछिल्लो लहरमा बसेका छन्। पुन बस्ने स्थानमा उपाध्यक्षको ‘नेमप्लेट’ राखिएको दृश्यले थप चासो उत्पन्न गरेको छ।
बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन पेस गर्ने कार्यक्रम छ। प्रतिवेदन प्रस्तुत गर्नु अघि, उनले पछिल्लो राजनीतिक अवस्थाबारे ब्रिफिङ गर्ने योजना रहेको छ।
यसअघि बिहान, स्थायी कमिटीका सदस्यहरूले पार्टी नेतृत्वलाई नयाँ संगठनात्मक सिद्धान्तको विकास गर्न सुझाव दिएका थिए। बैठकले पार्टीको संगठनात्मक संरचना र आगामी रणनीतिका विषयमा महत्त्वपूर्ण निर्णय लिने अपेक्षा गरिएको छ।