टीकापुर :
आख्यानकार स्वर्गीय गगनसिंह थापाको नवौं कृति ‘मेरा गाउँको खड्क्या मन्त्री’ उपन्यास सामेबार एक कार्यक्रमका बिच टीकापुरमा लोकार्पण गरियो। उपन्यासको प्रकाशक गगन फाउन्डेसनका संस्थापक हिक्मत थापाले अध्यक्षता गरेको कार्यक्रममा कार्यक्रमका सञ्चालकले खड्कबहादुर नेपाली र उनकी धर्मपत्नी धौरी नेपालीलाई प्रमुख अतिथिको रुपमा मञ्चमा बोलाए।
खड्कबहादुर मञ्चमा प्रमुख अतिथि भएर पुग्दा कार्यक्रमका सहभागीहरूबीच सन्नाटा छायो। नौवटा कृति प्रकाशित गरिसकेका चर्चित आख्यानकार गगनसिंह थापाको कृतिको प्रमुख अतिथि उपन्यासकै मुख्यपात्र थिए।
खड्कबहादुर अर्थात् खड्क्या मन्त्री। पुग नपुग ४ फिट उचाइ, ७० वर्ष बढीको उमेर। होचो कद, दुब्लो शरीर, चिम्सा आँखा, अस्पष्ट मलिन आवाज। जीवनयापनका लागि लाटी (बोल्न नसक्ने, फरक क्षमता भएकी) श्रीमतीसँगै टीकापुरको बजारमा मागेर (सहयोग, अन्न, रुपैयाँ) हिँड्ने एक परिचित पात्र। टीकापुरकै सुकुम्बासी शिविरमा कच्ची टहरामा जीवन बिताइरहेका अति सामान्य खड्क्या मन्त्री आफैंमाथि लेखिएको उपन्यास ‘मेरा गाउँको खड्क्या मन्त्री’ का प्रमुख अतिथि थिए।
शारीरिक अस्वस्थता, दलित, उत्पीडित वर्ग। दैबले पनि ठगेको खड्क्या मन्त्रीको शरीर, बोल्न नसक्ने श्रीमती। ३० को दशकमा कैलालीको कटासेमा अछामको बिर्कुबाट बसाइँसरी आएका खड्कबहादुर नेपालीको जीवनमाथि स्वर्गीय थापाले उपन्यास लेखेका हुन्।
पञ्चायती शासन व्यवस्थाका विरुद्ध प्रजातन्त्र स्थापनाका लागि शारीरिक रूपमा कमजोर खड्कबहादुर नेपालीले गरेको योगदान, ३० देखि ५० को दशकमा आन्दोलनका उत्कर्ष, कर्णाली नदी, भर्खरै आधुनिक सहरका रूपमा विकसित हुँदै गएको टीकापुर टाउन (बजार) को परिवेशमा नेपाली र उनकी धर्मपत्नी धौंरीका रोचक, घोचक कथा उपन्यासमा छन्।
कटासेमा अस्थायी टहरोमा बसोबास गरेका खड्गबहादुरलाई एकदिन उपन्यासकार थापाले टीकापुर विकास समितिमार्फत जग्गा वितरण हुँदै आएको कुरा सुनाउँदै टीकापुरका मुख्य योजनाकार मानिने पूर्वमन्त्री स्वर्गीय खड्कबहादुर सिंहलाई भेट्न सुझाए। कटासेबाट मन्त्री सिंहको क्वाटरसम्म पुगेका खड्कबहादुरले आफ्नो नाम त भने तर थर बिर्सिन्छन्। पालेले नाम सोध्दा खड्कबहादुर भनेका उनले थर भन्न नसकेपछि मन्त्री सिंहको क्वाटरमा पुर्याइन्छ। पालेले नै खड्कबहादुर मन्त्री होस् भनेर जिस्काउँदा उनले टाउको हल्लाउँछन्, हो भन्दै। पञ्चायतको आन्दोलनमा रहेका बहुदलवालाहरूले मन्त्री सिंहलाई जिस्काउन उनलाई पठाएको ठान्छन् र केही रकम दिएर फिर्ता पठाउँछन्।
भोलिपल्ट दुई छोरा, तीन छोरी र श्रीमतीसहित पुनः क्वाटरमा पुगेका खड्कबहादुरलाई केही समय प्रहरीले नियन्त्रणमा लिन्छ। सबै कुरा बुझेपछि मन्त्री सिंहले खड्कबहादुरलाई ‘ल तँ जनताको मन्त्री भइस्’ भन्दै कटासे फिर्ता पठाउँछन्। त्यही दिनदेखि उनलाई गाउँमा सबैले खड्क्या मन्त्री भनेर चिन्न थाले।
तत्कालीन पञ्चायती व्यवस्थाविरुद्ध बोल्नेहरूले मन्त्री सिंहलाई भेट्न खोज्दा खड्क्या मन्त्रीको झुपडीसम्म पुर्याएर व्यवस्था विरुद्धको प्रतीकका रूपमा खड्क्या मन्त्रीलाई उपन्यासमा चिनाइएको छ भने उपान्यासको अन्त्यतिर देशमा भएको व्यवस्था परिवर्तनले खड्क्या मन्त्रीको जीवन सुखमय बितेको कथा छ।
उपन्यासमाथि समीक्षा गर्दै टीकापुर बहुमुखी क्याम्पसका उपप्राध्यापक डाक्टर धनकृष्ण उपाध्यायले आख्यानकार थापाका अन्य कृतिहरूभन्दा यो कृति निकै उत्कृष्ट रहेको दाबी गरे।
‘नेपाली साहित्यमा प्रायः जित्नेहरूको इतिहास लेखिने गरेको छ, आख्यानकार थापाले एक विपन्न परिवार, उसको संघर्ष, प्रजातन्त्र स्थापनाका लागि पुर्याएको योगदानबारे यथार्थ उजागर गरेर यो उपन्यास बजारमा ल्याएका छन्’ नेपाली विषयका उपप्राध्यापक डाक्टर उपाध्यायले भने, ‘उपन्यासमा वास्तविक घटना, एक आम नागरिकको संघर्षको कथा र पटक–पटक देशका भएका व्यवस्था परिवर्तनका आन्दोलनहरूले आमनागरिकलाई दिन नसकेको खुसी उपन्यासमा छ।’
चौध अध्याय रहेको उपन्यासले कर्णाली र सुदूरपश्चिम प्रदेशको आञ्चलिकतामा जोड दिएको बताउँदै उपन्यासका मुख्य पात्रलाई नै प्रमुख अतिथि बनाएर बिमोचन गरिनु आफैमा एक नयाँ प्रयोग भएको बताए।
‘मुख्य पात्रमाथि लेखिएका कथा, उपन्यासहरूमा सोही पात्रले विमोचन गरेको मेरो सम्झनामा यो नै पहिलो कृति हो’ डाक्टर उपाध्यायले भने, ‘त्यति मात्रै नभएर उपन्यासको सम्पूर्ण बिक्री रकम मुख्य पात्र खड्कबहादुरलाई नै हस्तान्तरण गर्ने प्रकाशकको जमर्कोले सुनमा सुगन्ध थपेको छ।’
प्रकाशक गगन फाउन्डेसनका संस्थापक एवं गैरनेपाली आवासीय संघ (एनआरएनए) का पूर्वकोषाध्यक्ष हिक्मत थापाले उपन्यासका मुख्य पात्रलाई सहयोग पुर्याउने उद्देश्यले उपन्यासको बिक्रीबाट हुने सम्पूर्ण रकम खड्कबहादुरको परिवारलाई हस्तान्तरण गर्ने बताए।
‘यो उपन्यासका मुख्य पात्रको जीवन प्रजातन्त्र स्थापनाको लामो समय भइसक्दा समेत ज्युँका त्युँ नै छ, उपन्यासको अन्त्यमा उनको जीवन सुखमय भएको कल्पना मेरा पिताजी उपन्यासकारले गरेका छन्’ कविसमेत रहेका थापाले भने, ‘थोरै भए पनि उनलाई राहत पुगोस् भन्नका लागि यो उपन्यासको सम्पूर्ण बिक्री रकम नेपालीको परिवारलाई हस्तान्तरण गर्ने घोषणा गर्दछु।’
कार्यक्रममा सहभागीहरूले उक्त घोषणापछि उपन्यास खरिद गर्दै उक्त रकम खड्कबहादुरलाई हस्तान्तरण गर्न सहयोग गरेका छन्। कार्यक्रमबारे जानकारी पाएका दैलेखका दिलीप आचार्यले प्रदान गरेको १० हजार रुपैयाँ, टीकापुरका पूर्ण रावलले सहयोग गरेको दुई हजार पाँच सय रुपैयाँ खड्कबहादुरको परिवारलाई हस्तान्तरण गरिएको थियो।
‘हालसम्म जग्गा जमिन नभएर सुकुम्बासीमै बस्दै आएका खड्कबहादुर नेपाली मेरा पिता आख्यानकार गगनसिंह थापाका लागि प्रेरणाको स्रोत हुन्, उपन्यासमा स्वर्गीय बुवाको इच्छा छ, खड्गबहादुर सम्पन्न भएको, उसको परिवारमा समृद्धि आएको। त्यही भएर मैले उपन्यास बिक्रीको सबै रकम उनको परिवारलाई दिने घोषणा गरेको छु’ प्रकाशक हिक्मत थापाले भने, ‘खड्कबहादुरका लागि यो रकमले थोरै भए पनि राहत हुनेछ, जीवनयापन गर्न सहयोग पुग्नेछ।’
कार्यक्रममा सहभागीमध्ये अधिकांशले खड्कबहादुरको जीवन बदल्न सहयोग गर्नुपर्नेमा जोड दिए। समाजसेवी नमराज उपाध्यायले भने ‘मैले थुप्रै बिमोचन कार्यक्रमहरू देखेको छु, पात्रका बारेमा लेखिने कथा पढेको छु, उपान्यासको बिक्रीबाटै उपन्यासका मुख्यपात्रको जीवन बदल्न थोरै भए पनि सहयोगको घोषणाले निकै फरक अनुभूति भएको छ।’
सुदूरपश्चिमको पहाडी जिल्ला अछाममा वि.सं. २००५ सालमा जन्मिएका आख्यानकार थापा आञ्चलिक आख्यानकारका रूपमा परिचित छन्। उनका कर्णालीको छेउछाउ, पुर्खाको चिठ्ठी, मेरो मधुशाला, उज्ज्वली, अस्ताचलको ढोकाबाट, सोह्र सौगात आदि कृतिहरू प्रकाशित छन् भने आधादर्जन बढी कृतिहरू प्रकाशोन्मुख छन्। खैरीफाँटास्थित अरुणोदय माध्यमिक विद्यालयका संस्थापक प्रधानाध्यापक रहेर सेवा गरेका थापा दुई कार्यकाल जिल्ला विकास समिति कैलालीको सदस्यका रुपमा निर्वाचित भएका थिए।