काठमाडौं ।
नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक आज पनि जारी रहनेछ। सोमबारदेखि धुम्बाराहीस्थित एक बैंक्वेटमा सुरु भएको बैठक आज बिहान ११ बजेपछि बस्न लागेको छ।
बैठकको पहिलो दिन अध्यक्ष प्रचण्डले उद्घाटन गर्दै राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए। साथै, विभिन्न प्रदेशबाट रिपोर्टिङ भएको थियो।
प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदनमा पार्टीका केन्द्रीय सदस्यहरूले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने र स्रोत खुलाउनु पर्ने कुरा उल्लेख गरिएको छ।
प्रदेशको रिपोर्टिङ गर्नेहरूले स्थानीय तहको उपनिर्वाचन सन्तोषजनक भए पनि धेरै उत्साहित हुने अवस्था नरहेको बताए। उनीहरूले केन्द्रीय नेतृत्व गाउँ तहसम्म पुग्नुपर्ने माग पनि राखेका छन्।
आजको बैठकमा अध्यक्ष प्रचण्डको प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राख्नेछन्।