बागलुङ नगरपालिकाका १४ वडा बालमैत्री वडा घोषणा
बागलुङ नगरपालिकाका १४ वडा बालमैत्री वडा घोषणा
    • बेल संचार

    • २२ पुष २०८१, सोमबार

बागलुङ ।

बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीतिका ५१ सूचक पूरा गरेपछि बागलुङ नगरपालिकाका १४ वडालाई बालमैत्री वडा घोषणा गरिएको छ। नगरपालिकाले पछिल्ला दुई वर्षमा सामाजिक विकास र बालमैत्री पूर्वाधारमा झन्डै तीन करोड रुपैयाँ लगानी गरिसकेको छ।

यसअघि जिल्लाको गलकोट नगरपालिकालाई बालमैत्री घोषणा गरिएको थियो। बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्तकुमार श्रेष्ठले बालमैत्री पूर्वाधार निर्माण, विभिन्न अन्तरक्रिया कार्यक्रम सञ्चालन, वडा तहमा बालमैत्री सहजकर्ता खटाउनुका साथै बालमैत्री विद्यालय, पूर्वाधार र स्वास्थ्यतर्फका सबै सूचक पूरा भएको जानकारी दिए। चालु आर्थिक वर्षमा बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा र कार्यक्रमका लागि मात्रै एक करोड २५ लाख रुपैयाँको बजेट विनियोजन गरिएको छ।

यो बजेटबाट बालमैत्री विद्यालय भवन, खानेपानी, शौचालयलगायतका पूर्वाधार निर्माण गरिएको छ। टोल–टोलमा बालक्लब गठन, बालबालिकालाई सामाजिक कार्यक्रममा सहभागी गराउने, बालविवाह र बालश्रम अन्त्यका अभियान सञ्चालन भइसकेका छन्। नगरप्रमुख श्रेष्ठका अनुसार आगामी योजनामा नगर घोषणासँगै दीगोपनाका लागि रणनीतिक योजना तयार पार्ने कामलाई प्राथमिकता दिइएको छ।

नगरपालिकाले गत आर्थिक वर्षमा पनि ४० लाख रुपैयाँ खर्च गर्दै सामुदायिक विद्यालयका शौचालय, खानेपानी र बालमैत्री पूर्वाधार निर्माण गरेको थियो। आगामी दिनमा हुने हरेक विकास निर्माणलाई बालमैत्री तरिकाले अघि बढाउने योजना रहेको बालमैत्री संयोजक तिलक आचार्यले जानकारी दिए।

बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीति, कार्यविधि २०७८, घोषणा कार्यविधि २०७९ र स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार २०७९ जेठ ६ गतेदेखि बालमैत्री स्थानीय शासन अवलम्बन गर्ने प्रतिबद्धतामा हस्ताक्षर गरी २०८१ पुस मसान्तभित्र बागलुङ नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा गर्ने निर्णय गरिएपछि सबै वडा बालमैत्री घोषणा गरिएको हो।

बाल बचाउ, बालसंरक्षण, बालविकास र बालसहभागिता जस्ता बालअधिकारका सवाललाई स्थानीय तहको नीति, संरचना, प्रणाली र कार्य प्रक्रियामा संस्थागत गर्दै बागलुङ नगरपालिकालाई बालमैत्री बनाइएको हो।

साताकाे चर्चित
सम्बन्धित