हेटौँडा ।
हेटौँडा उपमहानगरपालिका-६ स्थित गौरीटार रंगशालामा ११ करोड ७४ लाखको लागतमा ड्रेनसहितको अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान निर्माण भइरहेको छ।
प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव दीपक लामाका अनुसार मैदानमा छ हजार दर्शक क्षमताको एउटा प्याराफिट, पाँच वटा पिच, ७० मिटर रेडिएसको मैदान, स्कोर बोर्ड, भीभीआईपी कक्ष, खेलाडी कक्ष, चेन्जिङ रुम, टिभी र रेडियो ब्रोडकास्टिङ कक्ष, मिडिया कक्ष, अपाङ्गमैत्री क्षेत्र, पार्किङलगायतका संरचना निर्माण गरिँदैछन्।
चार वटा ब्लकमा प्याराफिट निर्माण गर्ने योजना अनुसार हाल एउटा ब्लकको काम भइरहेको छ। मैदान निर्माणका लागि नौ करोड ४२ लाख ८२ हजारको ठेक्का एसएनएस पिएल एचकेसी जेभीले २०८० चैत २० मा लिएको थियो।
हाल मैदान सम्याउने काम भइरहेको छ र भूमिगत ढलमार्फत पानी पठाउन पाइप बिछ्याउने तयारी भइरहेको छ। विभिन्न तहमा ग्राभेल र माटो बिछ्याएपछि मैदानको माथिल्लो भागमा बर्मुण्डा दुबो लगाइनेछ।
गत आइतबार नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले गौरीटार रंगशालामा निर्माण भइरहेको क्रिकेट ग्राउण्डको स्थलगत अवलोकन गरेका थिए। उनले क्रिकेटका लागि पूर्वाधार निर्माण भइरहेको प्रति खुसी व्यक्त गर्दै प्रदेश सरकारको लगानीलाई सकारात्मक भने। उनले ग्राउण्डको निर्माण तीव्र गतिमा भइरहेकोले छिट्टै राष्ट्रियस्तरको खेल खेलाउन सकिने बताए।