‘गोरखा भ्रमण वर्ष २०२५’ सफल बनाउन गोरखा नगरपालिकाले सार्वजनिक गर्‍यो कार्यतालिका
‘गोरखा भ्रमण वर्ष २०२५’ सफल बनाउन गोरखा नगरपालिकाले सार्वजनिक गर्‍यो कार्यतालिका
    • बेल संचार

    • २२ पुष २०८१, सोमबार

गोरखा ।

गोरखा नगरपालिकाले ‘गोरखा भ्रमण वर्ष २०२५’ सफल बनाउनका लागि ३२ योजनासहितको कार्यतालिका सार्वजनिक गरेको छ। नगरप्रमुख कृष्णबहादुर रानामगरका अनुसार गोरखाको ऐतिहासिक, धार्मिक, र खेल क्षेत्रलाई पर्यटनसँग जोडेर विभिन्न कार्यक्रममार्फत पर्यटक भित्र्याउने योजना छ।

देशभरका सातवटै प्रदेशमा ‘जाऊँ है गोरखा कार्यक्रम’ आयोजना गरिनेछ भने प्रदेशस्तरीय खेलकुद प्रतियोगिताको पनि आयोजना हुनेछ।

गोरखा भ्रमणमा आउने पर्यटकलाई सहज बनाउन नगरपालिकाले नगरभित्रका ५६ वटा धार्मिक र पर्यटकीय स्थलहरूको पहिचान गरी बुकलेट तयार पारेको छ। साथै, आँबुखैरेनी हुँदै गोरखा प्रवेश गर्ने पर्यटकका लागि पर्यटकीय स्थलहरूमा पुग्ने बाटोको सूचना दिन क्यूआर कोडसहितको ‘स्ट्रेट नम्बर’ राख्ने योजना रहेको छ।

नगरप्रमुख रानामगरका अनुसार क्यूआर स्क्यान गरेपछि पर्यटकले सम्बन्धित स्थलको जानकारी सजिलै पाउनेछन्। माघ महिनाभित्र यो योजना सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

त्यस्तै, सदरमुकामस्थित बसपार्क नजिकै बहुउद्देशीय भवनमा पर्यटकलाई सूचना प्रदान गर्न सूचना केन्द्र स्थापना गर्ने तयारी भइरहेको छ।

धार्मिक पर्यटकलाई आकर्षित गर्न विश्वनाथ योगीको सम्मेलन, गोरखनाथदेखि गोरखपुरसम्म खिचडी यात्रा, रोट महोत्सव, र शान्ति पदयात्रा कार्यक्रम आयोजना गरिनेछ। साथै, काठमाडौँ, पोखरा, लुम्बिनी, बन्दीपुर, सौराहालगायतका स्थानमा पर्यटन सञ्जाल गठन गरिनेछ।

नगरपालिकाले पर्यटन प्रवर्द्धनका लागि तालिम सञ्चालन गर्ने र सामाजिक सञ्जालमार्फत प्रचारप्रसारका लागि पर्यटनसम्बन्धी प्रतियोगिता आगामी फागुनमा गर्ने योजना बनाएको छ।

गोरखा भ्रमण वर्ष सफल बनाउन होटल व्यवसायी सङ्घको आयोजनामा पर्यटन व्यवसायीको भेला, गण्डकी प्रदेशस्तरीय न्यायिक भेला २०८१, र पर्यटनसम्बन्धी छलफलजस्ता कार्यक्रम नगरपालिकाले सम्पन्न गरिसकेको छ।

साताकाे चर्चित
सम्बन्धित