काठमाडौं ।
नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक आज पनि ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी रहनेछ। बैठक बिहान ११ बजेबाट सुरु हुनेछ।
आइतबारदेखि सुरु भएको यस बैठकमा आज केन्द्रीय सदस्यहरूले राजनीतिक र साङ्गठनिक प्रतिवेदनमाथि आ-आफ्नो धारणा प्रस्तुत गर्नेछन्।
आइतबारको बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन र महासचिव शङ्कर पोखरेलले साङ्गठनिक प्रतिवेदन पेस गरेका थिए।
सोही दिन २७ जना केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राखिसकेका छन्। बाँकी सदस्यहरूले आज धारणा राखेपछि प्रतिवेदनमाथि निष्कर्ष प्रस्तुत गरिने एमाले नेताहरूले बताएका छन्।