विराटनगर महानगरपालिकाले चालु आर्थिक वर्षको साढे पाँच महिनामा आन्तरिक स्रोतबाट २३ करोड ३५ लाख राजस्व संकलन गरेको छ। गत साउनदेखि १५ पुससम्म महानगरले जम्मा ३ करोड ३५ लाख ९७ हजार रुपैयाँ, अर्थात् लक्ष्यको २१.०८ प्रतिशत मात्रै संकलन गरेको हो। चालु आर्थिक वर्षका लागि आन्तरिक आयको लक्ष्य एक अर्ब १० करोड ७९ लाख १० हजार रुपैयाँ छ।
विराटनगर महानगरपालिका नगरसभाको पन्ध्रौं अधिवेशनमा उपमेयर शिल्पा निराला कार्कीले चालु आर्थिक वर्ष २०८१/०८२ का लागि संशोधित आय-व्यय प्रस्तुत गर्दै पुस १५ गतेसम्म संघ र प्रदेशबाट प्राप्त भएको बजेटसहित जम्मा एक अर्ब २२ करोड ४८ लाख ३ हजार रुपैयाँ महानगरले आम्दानी गरेको जानकारी दिइन्।
चालु आर्थिक वर्षका लागि महानगरले तीन अर्ब ४९ करोड ९८ लाख ८६ हजार आय अनुमान गरेको छ। सोही बराबर खर्च हुने बजेट प्रस्तुत गरेको महानगरले पुस १५ गतेसम्म ६९ करोड ५४ लाख ३८ हजार रुपैयाँ खर्च गरेको छ। जसमध्ये १४ करोड ४० लाख ६३ हजार पुँजीगत खर्च भएको छ। कर्मचारीको तलब भत्तासहित चालुतर्फ ५५ करोड १३ लाख ७५ हजार रुपैयाँ खर्च भएको छ।
अधिवेशनमा मेयर नागेश कोइरालाले सीमित स्रोत र साधनबाट पछिल्लो अढाई वर्षमा ३१ किलोमिटर सडक कालोपत्रे र ४८ किलोमिटर नयाँ सडक ग्राभेल, ४६ किलोमिटर नाला, १७८ वटा कल्भर्ट, ९२ किलोमिटर आरसीसी सडक ढलान गरेको र ७५ किलोमिटर रिटेरिङ वाल निर्माण गरेको दाबी गरे।