बौद्धिक अपाङ्गता भएका महिलाहरूका लागि विविध सीप विकास तालिम सञ्चालन
बौद्धिक अपाङ्गता भएका महिलाहरूका लागि विविध सीप विकास तालिम सञ्चालन
    • शर्मिला विश्वकर्मा

    • २२ पुष २०८१, सोमबार

काठमाडौँ

लचना तथा बौद्धिक अपाङ्गता उत्थान समाज (सुनगाभा होम्स ) बौद्धिक अपाङ्गता भएका छोरीहरूका अभिभावकहरू द्वार स्थापना गरिएको एक गैरसरकारी सामाजिक संस्था हो । बौद्धिक अपाङ्गता भएका बालबालिकाहरूलाई शिक्षा तथा व्यावसायिक सीप दिने उद्देश्यले वि.स.२०५२ साल देखि काम गर्न थालिएको भएता पनि यस संस्थालाई भने वि.स.२०५४ सालमा आधिकारिक रूपमा काठमाडौँमा दर्ता गरेर बौद्धिक अपाङ्गता भएका छोरीहरूका लागि व्यावसायिक तालिम सञ्चालन गर्दै आएको छ ।

हाल यस संस्था काठमाडौँ महानगरपालिका वडा १५ को स्वयम्भू भगवान् पाउबाट १ सय मिटर अगाडि लचना बौद्धिक अपाङ्गता उत्थान समाज (सुनगाभा होम्स ) रहेको छ । अपाङ्गता जगतकी धरोहर, अपाङ्गता अभिभावक सुवर्ण केशरी चित्रकारको नेतृत्वमा ४ जना अभिभावक मिलेर २ जना बौद्धिक अपाङ्गता छोरीहरूलाई व्यावसायिक सीपहरू सिकाएर स्थापना गरिएको यस संस्था मार्फत अहिले सम्म ३५ जना बौद्धिक अपाङ्गता भएका महिलाहरूले व्यावसायिक सीप सिकेर विभिन्न सामाग्रीहरू उत्पादन गर्ने, आफ्ना दैनिक कार्यहरू आफै गर्ने, नृत्य गर्ने भएका छन् ।

बौद्धिक अपाङ्गता भएका छोरीहरूको शिक्षा, तथा व्यावसायिक सीप विकासका साथै अन्य विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने क्रममा लचना बौद्धिक अपाङ्गता उत्थान समाजले काठमाडौँ महानगरपालिका अन्तर्गत सामाजिक विकास विभागको सहकार्यमा यही पुस २१ गते देखि ३ महिना सम्म बौधिक अपाङ्गता भएका महिलाहरुका लागि विविध सीप विकास तालिम सञ्चालन गरेको छ । यस तालिममा आभारभूत कम्यूटर तालिम, हेरचाह सीप विकास तालिम, पूर्ण असक्त अपाङ्गता भएका व्यक्तिहरुको सञ्चार सीप सम्बन्धी तालिम र झोल साबुन बनाउने तालिम प्रदान गरिने आयोजकले जानकारी गराउनु भयो ।

पुस २१ गते देखि सञ्चालित उक्त विविध सीप विकास तालिमको उद्घाटनका क्रममा आयोजक संस्था लचना तथा बौद्धिक अपाङ्गता उत्थान समाज (सुनगाभा होम्स ) का उपाध्यक्ष मुकुन्दहरि दाहालले बौद्धिक अपाङ्गता भएका महिलाहरू, उनीहरूका अभिभावक तथा शिक्षक शिक्षिकाहरूको सीप तथा क्षमता, कम्यूटर सम्बन्धी आधारभूत ज्ञान प्रदान गर्ने, तालिमबाट बौद्धिक अपाङ्गता भएका महिलाहरूले कम्यूटरको बारेमा आधारभूत कुराहरू सिक्ने, अभिभावकहरूले यहाँ सिकेको सीपलाई आफू र ती छोरीहरूलाई उपयोग गर्न सिकाउँदै व्यवहारिक कुराहरू सिक्ने र शिक्षक शिक्षिकाले ती बौद्धिक अपाङ्गता भएका महिलाहरूलाई सिकाउन सकुन् भन्ने उद्देश्यले विविध सीप विकास तालिम कार्यक्रम सञ्चालन गरिएको बताउनु भयो ।

साथै उहाँले अभिभावक तथा शिक्षक शिक्षिकालाई पनि सँगै राखेर तालिम प्रदान गर्दा बौद्धिक अपाङ्गता भएका महिलाहरूलाई सम्झाउँदै सिकाउन सहज हुने भएकोले यस तालिममा बौद्धिक अपाङ्गता भएका महिलाहरू, उनीहरूका अभिभावक तथा शिक्षक शिक्षिकालाई पनि सहभागी गराइएको बताउनु भयो ।

त्यसै गरी यस विविध सीप विकास तालिमका प्रमुख प्रशिक्षक शोभना चित्रकारले तालिमको पहिलो दिन पुस २१ गते सञ्चालित कार्यक्रममा बेसिक कम्यूटर तालिम अन्तर्गत कम्यूटरको परिचय, कम्यूटरको भागहरूको चिनारी, कम्यूटर खोल्ने, बन्द गर्ने, कपी, पेस्ट, डिलिट, टाइपिङ, किबोर्ड, माउस, डेक्सटप लगायतका विषयमा जानकारी गराउनु भयो । लचना तथा बौद्धिक अपाङ्गता उत्थान समाज (सुनगाभा होम्स ) ले काठमाडौँ महानगरपालिका अन्तर्गत सामाजिक विकास विभागको सहकार्यमा सञ्चालन भएको विविध सीप विकास तालिममा ९ जना बौद्धिक अपाङ्गता भएका महिलाहरू, अभिभावक तथा शिक्षक शिक्षिका गरी २५ जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको छ भने प्रशिक्षकहरूमा शोभना चित्रकार, मुकुन्दहरि दाहाल, र सुस्मा शर्मा रहनु भएको छ ।

यो एक महिने तालिम काठमाडौँ महानगरपालिका वडा १५ को स्वयम्भूमा रहेको लचना तथा बौद्धिक अपाङ्गता उत्थान समाज (सुनगाभा होम्स ) को कार्यालयमा नै सञ्चालन भइरहेको छ ।

साताकाे चर्चित
सम्बन्धित