काठमाडौँ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका नेता र कार्यकर्तालाई नियमित रूपमा योग र ध्यान गर्न आग्रह गरेका छन्।
केन्द्रीय समितिको बैठकमा बोल्दै उनले योग र ध्यानबारे विश्वव्यापी अवस्थाको विश्लेषण गर्दै यो अभ्यासलाई वैज्ञानिक र प्रगतिशील ढंगले अघि बढाउनुपर्ने धारणा व्यक्त गरे।
प्रचण्डले नेपालमा पनि योग र ध्यानबारे दुईवटा धार रहेको उल्लेख गरे ।
एकथरी गुरुहरू प्रगतिशील दृष्टिकोण राख्ने भए पनि अर्को थरी धार्मिक अन्धविश्वाससँग जोडेर दुरुपयोग गर्ने प्रवृत्ति रहेको बताए ।
माओवादी कार्यकर्ताले प्रगतिशील सोचसहितको योग ध्यानलाई आत्मसाथ गर्नुपर्नेमा उनले जोड दिए।
उनले पार्टीको आठौं महाधिवेशनले योग र ध्यानलाई वैज्ञानिक रूपमा आत्मसाथ गर्दै नियमित अभ्यासको विषय बनाउन निर्णय गरेको र आगामी दिनमा योग र ध्यान शिविरहरू आयोजना गरिनुपर्ने योजना रहेको जानकारी दिए।