स्याङ्जा :
पछिल्लो समय स्याङ्जामा परम्परागत गुन्द्री बुन्ने चलन हराउँदै गएको छ। खेतमा धान काटेर पराल छाँटेर गुन्द्री बुन्ने परम्परा विशेषगरी पुस–माघ महिनामा फुर्सदको समयमा गरिन्थ्यो। धार्मिक पूजाआजा र पितृकार्यमा पनि परालबाट बुनिएका नयाँ गुन्द्रीको प्रयोग हुने चलन थियो।
वालिङ–८ की सीता सुवेदीका अनुसार, बजारमा प्लास्टिकका गुन्द्री र म्याटको उपलब्धता बढेसँगै परम्परागत गुन्द्री बुन्ने चलन हराउँदै गएको छ। “प्लास्टिकका गुन्द्री र म्याट प्रयोग गर्न थालेपछि हामीले गुन्द्री बुन्न छाड्यौं,” उनले भनिन्।
खेती छोड्नु र हाइब्रिड जातको धान खेती गर्दा पराल छोटो हुने भएकाले पनि गुन्द्री बुन्ने परम्परा लोप हुँदै गएको छ। ग्रामीण क्षेत्रहरूमा अझै केही मानिसहरूले गुन्द्री बुन्ने गरे पनि बजारको प्रभावले यो परम्परा विस्तारै हराउँदै गएको वालिङ–८ की रन्नता बगालेले बताइन्।
नयाँ पुस्ताले गुन्द्री बुन्ने सीपमा रुचि नदेखाउनु र पुरानो पुस्ताबाट यो सीप हस्तान्तरण नहुनु पनि यो परम्पराको लोप हुने कारण बनेको छ। परालको लम्बाइअनुसार गुन्द्रीको चौडाइ निर्धारण गरी बुन्ने परम्परा थियो।
परम्परागत रूपमा धानको पराल, जुटको धागो, र बाबियोको खर प्रयोग गरेर हाते तानको माध्यमबाट गुन्द्री बुन्ने गरिन्थ्यो। पराललाई काठको हतासोले ठोकेर बनाउने यो कला आज हराउँदै गएको छ।