काठमाडौं ।
गृहमन्त्री रमेश लेखकले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयनसँग सम्बन्धित समस्याहरू चाँडै समाधान हुने बताएका छन्।
गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलसँगको भेटघाटमा गृहमन्त्री लेखकले यो कुरा बताएका हुन् ।
उनले भनेका छन् कि गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयनमा देखिएका जटिलताहरू संसदको आगामी हिउँदे अधिवेशनबाटै सम्बोधन गरिनेछ।
गृहमन्त्री लेखकले सरकारको योजना बारे जानकारी दिँदै भने, “सरकार गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयनसहित नेपालका विद्यमान कानूनी समस्याहरू समाधान गर्नका लागि बृहत छलफल पछि एक दर्जन भन्दा बढी ऐन संशोधनको प्रस्ताव संसदमा प्रस्तुत गर्नेछ। यसै अधिवेशनबाट अधिकांश समस्याहरूको समाधान हुने अपेक्षा गरिएको छ।”