काठमाडौं ।
नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आजै सकिने भएको छ।
बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिउँसो २ बजेसम्म केन्द्रीय सदस्यहरूले धारणा राखिसकेपछि जवाफ र निर्णय प्रक्रियामा अगाडि बढ्ने प्रस्ताव गरेका छन्।
मंगलबारको बैठकको सुरुमा बोल्दै प्रचण्डले आफूले पेस गरेको राजनीतिक प्रस्तावमा सबैको सर्वसम्मत धारणा आएको बताएका छन्।
उनले बैठकको छलफल प्रक्रिया छोट्याउने भन्दै दिउँसो २ बजेसम्म धारणा राखेर निर्णय प्रक्रियामा जान प्रस्ताव गरेका हुन्।
आइतबार प्रस्तुत गरेको ३० पेजको राजनीतिक प्रतिवेदनमा धारणा राख्न १८० जनाले नाम टिपाएका थिए।
सोमबार ८० जनाले बोलेका थिए, र बाँकी सदस्यहरूले बोल्ने क्रम जारी छ।