नयाँ मानसिक स्वास्थ्य सेवा केन्द्र बीएनएसी नेपाल लाजिम्पाटमा उद्घाटन
नयाँ मानसिक स्वास्थ्य सेवा केन्द्र बीएनएसी नेपाल लाजिम्पाटमा उद्घाटन
    • बेल संचार

    • २३ पुष २०८१, मंगलवार

काठमाडौं 

काठमाडौको लाजिम्पाटमा मानसिक स्वास्थ्य सेवा, परामर्श तथा अनुसन्धानका लागि ब्रेन एन्ड न्यूरोसाइन्स सेन्टर नेपाल (बीएनएसी नेपाल) को आईतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले उद्घाटन गरे।

मानसिक स्वास्थ्यका बिषयमा धेरै मानिसले खुलेर समस्या नबताउँने र ढिलो गरि चिकित्सक तथा स्वास्थ्य संस्थामा पुग्दा धेरै समस्याहरु बढ्दै गएको अवस्थामा अनुसन्धान सहितको स्वास्थ्य केन्द्र खोल्नु राम्रो बिषय हो डा. पोखरेलले बताए।

उनले मानसिक स्वास्थ्य खराव हुनुलाई रोग नै नमान्ने वा भईहालेमा पनि उपचारमा जान नमान्ने नेपाली समाजको वास्तविकता हो भन्दै उपचार गराउन चाहने सचेत नागरिकले उपचार पाउने स्थानकै अभाव पनि रहेको अवस्थामा मानसिक स्वास्थ्य सम्वन्धी विशेषज्ञता हासिल गरेका जनशक्तिले आफ्नो ज्ञान/सिपमार्फत सेवा गर्ने केन्द्रहरु खोल्दै जानुपर्नेमा जोड दिए।

डा.पोखरेलले भने, ‘नेपालमा जति पनि स्वास्थ्य संस्थाहरु खुल्छन् दुःखका साथ भन्नुपर्दा विशेषज्ञ विहिन अवस्थामा खुल्छन् । तर ब्रेन एन्ड न्यूरोसाइन्स सेन्टर नेपालका संस्थापक डा. रिसब कोईराला आफै मानसिक स्वास्थ्य विशेषज्ञ हुनु खुशीको कुरा हो । सरकारले मानसिक स्वास्थ्यका क्षेत्रमा १४ वटा जिल्लामा स्वास्थ्य कार्यक्रम गर्न नसकेको अवस्थामा मानसिक स्वास्थ्य लक्षित स्वास्थ्य केन्द्र खुल्नुले ग्रामिण भेगका नागरिकले पनि सेवा पाउँने अपेक्षा गरेकोछु । अहिले जिल्लामा मनोचिकित्सक टिक्दैनन र काठमाडौमै मात्र केन्द्रीत छन् । यो संस्थाले बिरामीलाई दिने सेवा सुपथ हुनुपर्छ ।’

संस्थाले जिल्लामा शुरु गरेको अभियानको सफलताको कामना गर्दै स्वास्थ्य मन्त्रालयले गर्नुपर्ने सहयोग आफुले गर्ने उनले बताए।

सोही अवसरमा नर्वेको ओस्लो युनिभर्सिटीका मनोसामाजिक विभाग प्रमुख डा.सुरज बहादुर थापाले नर्वेमा मानसिक स्वास्थ्यलाई प्राथमिकतमा राखेर उपचार गरिने हुनाले ८ हजारको हाराहारीमा मनोचिकित्सक रहेको बताए। ‘विश्वमा नै मानसिक स्वास्थ्यको अवस्था बिकराल हुँदै गएकोछ । यसका लागि अध्ययन, अनुसन्धान, परामर्श, उपचार जस्ता बिषय सहज र सर्वसुलभ रुपमा प्राप्त हुनुपर्छ’ उनले भने।

उद्घाटनका अवसरमा ब्रेन एन्ड न्यूरोसाइन्स सेन्टर नेपालका कार्यकारी निर्देशक डा. रिसब कोईरालाले मानसिक स्वास्थ्य प्रवद्र्धनका लागि मानस रोग विशेषज्ञ(आयुर्वेदिक विधिबाट मानसिक रोगको उपचार गर्ने ),क्लिनिकल साइकोलोजी, मनोचित्सक, मनोविर्शकता, थेरापीलगायतको सुविधासहित राजधानीमा उपचार सेवा दिने केन्द्रको स्थापना गरिएको जानकारी दिए।

उनले लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको यो संस्थाले विश्व स्वास्थ्य संगठनसँगको सहकार्यमा सुदुर पश्चिममा अनुसन्धान गर्ने कार्यक्रम रहेको बताए। उनले नेपालमा पहिलो पटक आर्युवेद मानसिक परामर्श पनि यो संस्थाले गर्ने र आर्थिक अवस्था कमजोर भएका व्यक्तिलाई पनि निःशुल्क रुपमै परामर्श दिने कार्यक्रम आफुले राखेको बताए ।

कार्यक्रममा त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पताल महाराजगंजका मनोचिकित्सा शाखाका प्रमुख डा. सरोज ओझा, पाटन अस्पतालका निर्देशक डा. रवि शाक्य लगायतले समय सापेक्ष मानसिक स्वास्थ्य सेवा दिन सक्ने गरि अघि बढ्नुस हामी सहकार्य गर्न तयार रहेको बताए ।

साताकाे चर्चित
सम्बन्धित