काठमाडौं ।
चीनको तिब्बत क्षेत्रमा पर्ने सिजाङ प्रान्तको सिगात्सेमा मंगलबार गएको ७ म्याग्निच्युडको भूकम्पले ठूलो धक्का पुर्यायो, जसका कारण मृत्यु हुनेको संख्या १२६ पुगेको छ। भूकम्पका कारण भौतिक संरचनाहरू भत्किएका छन् र भग्नावशेषमा कोही पुरिएका हुनसक्ने अनुमान गरिएको छ। भूकम्प प्रभावित क्षेत्रमा खोज र उद्धार कार्य जारी रहेको छ।
नेपाल, भारत र बंगलादेशमा पनि भूकम्पको धक्का महसुस भएको थियो। नेपाली समय अनुसार ६:५० बजे भूकम्प आएको हो।
तिब्बतमा करिब पाँच हजार नेपाली छन्। भूकम्पको केन्द्रविन्दु दिङ्गी गाउँ र आसपासका क्षेत्रमा करिब १०० नेपाली व्यवसायीहरू रहेका थिए, तर सबै सुरक्षित रहेको ल्हासास्थित नेपाली महावाणिज्य दूतावासले जनाएको छ। महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाले बीबीसी नेपालीसँग भने, “हामीले नेपाली समुदाय र यहाँका निकायसँग सम्पर्क गरेर जानकारी लिएका छौं, सबै सुरक्षित छन्।”
सिगात्सेमा एक हजारभन्दा बढी घर भत्किएका छन् र क्षेत्रको बिजुली र पानी आपूर्ति प्रभावित भएको छ।
चिनियाँ राष्ट्रपति सी जिनपिङले उद्धार कार्य र राहत वितरणका लागि प्रभावकारी सेवा प्रवाह गर्न निर्देशन दिएका छन्। उनले आपत्कालीन उद्धार सामग्री तुरुन्त पठाउन र क्षतिग्रस्त पूर्वाधारको मर्मत कार्य छिटो गर्नुपर्ने बताएका छन्।